मंगलवार, श्रावन ७, २०७६
    पर्यटक

    श्रीलङ्का आक्रमण : पर्यटन क्षेत्रमा डेढ अर्ब डलर घाटा, पर्यटक ३० %ले कमी

    शुक्रबार, १३ बैशाख २०७६, आहाखबर

    कोलम्बो, श्रीलङ्का, १३ वैशाख 

    श्रीलङ्कामा गत हप्ता क्रिश्चियन पर्व इस्टरका दिन भएको आतङ्कवादी आक्रमणका कारण पर्यटकको आगमनमा ३० प्रतिशतले कमी आउनसक्ने यहाँको अर्थ मन्त्रालयले शुक्रबार जनाएको छ ।

    मन्त्रालयले आक्रमणका कारण विदेशी पर्यटकले यसअघि गरेको होटेलहरूको वुकिङ रद्द गर्ने क्रम देखिएको होटेल व्यवसायीहरूले जनाएका समय अर्थमन्त्रालयको उक्त भनाई सार्वजनिक भएको हो । 

    आक्रमणको प्रभावका कारण पर्यटन क्षेत्रमा यस बर्ष करिब डेढ अर्ब अमेरिकी डलर बराबरको प्रभाव पर्नसक्ने देखिएको मन्त्रालयले उल्लेख गरेको छ ।

    “आक्रमणका कारण सबैभन्दा नराम्रो असर पर्यटन क्षेत्रमा पर्नेछ,” अर्थमन्त्री मङ्गला समरावीराले पत्रकारसँगको कुराकानीमा बताउनुभयो । 

    “झण्डै ३० प्रतिशतको हाराहारीमा पर्यटकको आगमनमा गिरावट आउने र यसको कारण वैदेशिक विनिमय दरमा डेढ अर्ब अमेरिकी डलरको क्षति पुग्ने हाम्रो अनुमान रहेको छ ।”

    गत आइतबार देशका शहरी क्षेत्रमा रहेका सुविधासम्पन्न होटेल र गिर्जाघरमा भएका आक्रमणमा जम्मा २५३ जनाको मृत्यु भएको र यसमध्ये केही विदेशी नागरिक पनि रहेका समरावीराले बताउनुभयो । 
    उहाँले भन्नुभयो, “प्रभावित पर्यटन व्यवसायले पूर्णरूपमा आक्रमण पहिलेको अवस्थामा आउन करिब दुई बर्ष लाग्नेछ ।”

    एक दशक पहिले अन्त्य भएको दशकौँ  (३७ बर्ष) लामो गृहयुद्धको खाटो बस्न नपाउँदै विश्वलाई नै स्तब्ध पार्नेगरी भएका आक्रमणमा विदेशी आतङ्कवादी समूहको सहकार्यमा स्थानीय स्लामिक अतिवादी ( आइएस) समूहको सम्लग्नता रहेको सरकारी पक्षको भनाई रहेको छ ।

    आइएस समूहले आक्रमणमा आफ्नो सम्लग्नता रहेको जनाएपनि विदेशी समूहको उक्साहटमा स्थानीय अतिवादी स्लामिक समूहको सम्लग्नता रहेको सरकारी अधिकारीको दावी छ ।

    “विश्व समुदायबाट एक्लाइएको आइएस अतिवादी समूहका कारण देशको पर्यटन व्यवसायमा तत्काल प्रभाव परेको भएपनि एकदेखि दुई बर्षमा यसलाई व्यवस्थापन गरिने छ ।” 

    उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रलाई प्रभावित पार्नसक्ने आधारभूत कारणलाई सम्वोधन गरिएको छ । अहिले पर्यटन क्षेत्रमा सुरक्षाको प्रत्याभूत गराउने कामस्वरूप आवश्यक उपायको अवलम्बन गर्दै सरकारले स्थानीय जनता, पर्यटन व्यवसायीसँग सहकार्य गर्दै अघि बढिरहेको छ ।”

    उहाँले बेल्जियम, फ्रान्स, स्पेन तथा ट्यूनिशियाजस्ता मुलुकमा भएका हमलाका कारण सम्बन्धित मुलुकको पर्यटनमा केही समयका लागि प्रभाव परे पनि त्यसलाई छोटो समयमा नै निराकरण गरिएको सङ्केत गर्दै आफूहरूले पनि छिट्टै समस्याको समाधान निकाल्ने बताउनुभयो ।

    श्रीलङ्काको इतिहासमा पर्यटनको भूमिका उल्लेखनीय रहेको र आइतबारको आक्रमणका कारण पर्यटन क्षेत्रलगायतका बिषयमा प्रभाव पर्दा राज्यको राजश्व वृद्धि गत बर्षको ४ अर्ब ६० करोड अमेरिकी डलरबाट  पाँच अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्यमा असर पर्नसक्ने अर्थ मन्त्रालयले जनाएको छ ।

    सरकारी तथ्याङक अनुसार यहाँ आउने पर्यटकको सङ्ख्यामा गत बर्षको तुलनामा यस आर्थिक बर्षको पहिलो त्रैमासिकमा सात लाख ४० हजार ६० विदेशी अर्थात् ४.६ प्रतिशतको वृद्धि भएको देखिएको छ ।
    श्रीलङ्कामा भारत, बेलायत, चीनलगायतका मुलुकबाट ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गर्छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast