सोमबार, जेष्ठ १९, २०७७
    कृषि-उर्जा

    असिना पानीले आलु बालीमा क्षति

    बिहिवार, ५ बैशाख २०७६, आहाखबर

    बलेवा, ५ वैशाख
       
    वर्षभरि खाने आलुबाली असिना पानीले नष्ट गरेपछि बागलुङको जैमिनी नगरपालिका–३ दमेकका किसान चिन्तित छन् ।
     
    मुख्य नगदे बालीका रुपमा दमेकको नौला, दवदवे, रानीबासे, दह देउराली र खर्कलगायत स्थानमा किसानले लगाएको आलुबालीमा गत चैत २९, ३० र वैशाख १ गते परेको असिनापानीले  ठूलो क्षति पुर्याएकोे वडाध्यक्ष वेदबहादुर छन्त्यालले बताउनुभयो ।
     
    आलु र मकै खेतीमात्रै हुने उपल्लो दमेकमा असिना पानीले झण्डै ३५० परिवारको लाखौँ मूल्य बराबरको बालीमा क्षति पुर्याएको जैमिनी नगरपालिकाका उपप्रमुख लिला रानाले बताउनुभयो । यहाँको आलु स्वादिष्ट हुने भएकाले किसानले व्यावसायिकरुपमा नै आलु खेती गर्दै आएका थिए ।
     
    “यहाँका समान्य किसानले समेत वर्षमा दशमुरीभन्दा बढी आलु फलाउने गरेका छन्”, वडाध्यक्ष छन्त्यालले भन्नुभयो, “आलुबालीसँगै बारीमा लगाइएको भटमास, सिमी, मकै, बन्दाकोेभी, काउलीलगायत तरकारी बालीमा समेत ठूलो क्षति पुर्याएकाले यो वर्ष सबैको रोजीरोटी असिना पानीले खोसेको छ ।”
     
    “आलु र मकैले भरिभराउ हाम्रो बारी मरुभूमिजस्तै भएको छ”, वार्षिक ३० मुरी आलु बिक्री गर्दै आउनुभएकी  किसान पवित्रा क्षेत्रीले भन्नुभयो, “आलु बेचेर किनेको खाद्यान्नले छाक टार्दै आएका  हमीले अब के खानु ।” असिनापानीको क्षतिबारे यकिन भइनसकेको वडा कार्यालयले जनाएको छ । जैमिनी नगरपालिकाका उपप्रमुख रानासहितको समूहले प्रभावित क्षेत्रको अनुगमन गरेको र क्षतिको लगत सङ्कलन भइरहेको वडाध्यक्ष छन्त्यालले बताउनुभयो । आलुबालीमा पुगेको क्षतिका कारण चिन्तामा रहेका किसानलाई नगरपालिकाले उपलब्ध गराउने राहतले मात्रै प्राप्त नहुने भन्दै उक्त  नगरपालिकाले प्रदेश र केन्द्र सरकारसँग समेत राहतका लागि अनुरोध गरेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast