शनिबार, जेष्ठ १७, २०७७
    आर्थिक खबर

    प्रदेश ३ का मुख्यमन्त्रीद्वारा हावाहुरी पीडितलाई १ करोड सहयोग

    बुधबार, ४ बैशाख २०७६, आहाखबर

    जनकपुरधाम,  ४ बैशाख 

    प्रदेश ३ मुख्यमन्त्री डोरमणी पौडेलले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितको सहयोगका लागि एक करोड रुपैंयाको चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् । 

    प्रदेश ३ का मुख्यमन्त्री पौडेलले बुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् । 

    हावाहुरीबाट जनधनको ठूलो क्षति भएपछि प्रदेश ३ सरकारले राहत स्वरुप एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गरेकोमा प्रदेश ३ का मुख्यमन्त्री र प्रदेशसभालाई धन्यवाद ज्ञापन गरेका छन् ।
     
    विपत्तमा आ—आफनो स्थानबाट एकअर्कालाई सहयोग गर्न मुख्यमन्त्री डोरमणी पौडेलले सबैलाई आग्रह पनि गरेका छन् ।
     
    यसअघि मुख्यमन्त्री पौडेल बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण पनि गरेका छन् । 

    प्रदेश ३ का सांसदको तीन दिनको तलब बराबर चार लाख ६ हजार ५ सय रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गरेको छ । बैंकमा जम्मा गरेको भौचर प्रदेश ३ की उपसभामुख राधिका तामाङले मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेकी थिइन् । 

    मुख्यमन्त्री पौडेलसँगै उपसभामुख तामाङ, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव रमेश सिवाकोटी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशल किशोर झा जनकपुर आइपुगेका थिए । 

    चैत १९ गते बारा र पर्सा जिल्लामा आएका हावाहुरीले २८ जनाको ज्यान लिएको थियो भने १ हजार बढी घाइते एका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast