सोमबार, जेष्ठ १९, २०७७
    कृषि-उर्जा

    दर्जन बढी गाउँका ३ हजार जनता कृषिबाटै आत्मनिर्भर

    आईतवार, २४ चैत्र २०७५, आहाखबर
    फाइल फोटो

    गलेश्वर, २४ चैत 

    नेपालमा अझै पनि कृषि पेशालाई सम्मानजनक पेशाको रूपमा अपनाउन नसकिरहेको अवस्थामा म्याग्दीका दर्जन बढी गाउँका तीन  हजार बढी जनता कृषिबाट नै आत्मनिर्भर बनेका छन् । प्रसिद्ध अन्नपूर्ण पदमार्गले छोएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका साथै रघुगङ्गा, मालिका, मङ्गला, धवलागिरि गाउँपालिका र बेनी नगरपालिकाका दर्जन बढी गाउँका तीन हजार बढी जनता फसल उत्पादन र व्यावसायिक तरकारी तथा फलफूल खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

    लाहुरेको जिल्ला भनेर चिनिएको म्याग्दीले पछिल्लो समय उद्यमी र कृषकको जिल्ला भनेर  आफ्नो परिचय दिएको छ । दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर जमीन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।  एक लाख १३ हजार ६४१ जनसङ्ख्या रहेको जिल्लाको ३२ प्रतिशत जनसङ्ख्या पूर्णरूपमा कृषिमा आश्रित रहेको भए पनि उनीहरुले व्यावसायिकरूपमा उत्पादन गर्न सकेका छैनन् । सात प्रतिशत जनताले व्यावसायिकरूपमा नै कृषि पेशा अँगालेर मनग्यै कमाइ गर्न सफल भएका छन् ।

    जिल्लाको अन्नपूर्ण गाउँपालिकाको हिस्तान दोसल्ले, राम्चे, मङ्गला गाउँपालिकाको बाबियाचौर, अर्मन, बरङ्जा, कुँहू, धवलागिरि गाउँपालिकाको ताकम, मालिका गाउँपालिकाको बीम, दरबाङ, ओखरबोट, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, झीँ, पात्लेखेत र बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिङ्गालगायतका गाउँका अधिकांश जनता  कृषिबाट नै आत्मनिर्भर बन्नुका साथै विदेशमा भन्दा राम्रो कमाइ गर्न सफल भएको सम्बन्धित गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

    यी गाउँमा व्यावसायिकरूपमा तरकारी र फलफूल खेती गरिएको छ । तरकारीमा आलु, गोँलभेडा, साग, लहरे प्रजातिका तरकारी बढी उत्पादन हुने गरेका छन् । जिल्लाका दोसल्ले, बरङ्जा, बीम, भकिम्ली, राखु, बास्कुनालगायतका गाउँमा सुन्ताला बेचेर नै वार्षिकरूपमा रु पाँच करोडभन्दा बढी जिल्लामा भित्रिने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

    त्यसैगरी बेनी नगरपालिका–२ खबराको एउटै गाउँमा केरा बेचेर मात्र गत वर्ष रु ५० लाखभन्दा बढी आम्दानी भएको खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । म्याग्दीमा तरकारी र फलफूलबाट वार्षिक रु ४७ करोडभन्दा बढी आम्दानी हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

    बेनी नगरपालिका–२ खबराका कृषक शोभित सापकोटाले कृषि आफ्नो लागि वरदान सावित भएको बताउनुभयो । छ वर्षअघि के खाउँ र के लाउँको अवस्थामा रहेका सापकोटा अहिले कृषिबाटै रु एक करोडभन्दा बढीको सम्पत्ति जोड्न सफल हुनुभएको छ । त्यसैगरी बास्कुनाका तिलक गुरुङ, खबराका चन्द्रबहादुर कार्की, दोसल्लेकी सुनमाया पुन, अर्मनकी टीकाकुमारी सापकोटालगायतका कृषकले व्यावसायिक कृषिबाट नै करोडौँ कमाउन सफल हुनुभएको छ ।

     

    श्रमदानबाट मोटरबाटोको स्तरोन्नति

    म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वाराका बासिन्दाले तीन दिनसम्म श्रमदान गरेर गाउँमा पुग्ने मोटरबाटोको स्तरोन्नति गरेका छन् । भकुण्डे–तमाने–गौश्वारा जोड्ने मोटरबाटोको ४० मिटर क्षेत्रमा स्थानीयवासी मिलेर ढुङ्गा बिच्छ्याउने काम (सोलिङ) गरेका हुन् । “आफूले गर्न सक्ने र गरे हुने” कामका लागि सरकारी बजेटको मात्र आशा गर्नु हुँदैन भन्ने सन्देश प्रवाह गर्न गाउँलेले स्वतःस्फूर्तरूपमा श्रमदान गरेका अगुवा डम्मर सापकोटाले जानकारी दिनुभयो ।
     
    सापकोटाका अनुसार गौश्वाराका बासिन्दाले मोटरबाटोको सोलिङका लागि तीन दिनसम्म ढुङ्गा फोर्ने, बोक्ने र बिच्छ्याउने काम गरेका हुन् । बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुने उक्त मोटरबाटोको सोलिङ गरेको क्षेत्रमा अब राम्रोसँग यातायातका साधन सञ्चालन हुनसक्ने भएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast