आईतवार, असोज ५, २०७६
    स्कुल-कलेज

    छोराको स्मृतिमा विद्यालयलाई ५ लाख सहयोग

    मंगलवार, १९ चैत्र २०७५, आहाखबर

    गलकोट, १९ चैत

    जिल्लाको बागलुङ नगरपालिका–६ लहरेपिपल माध्यमिक विद्यालयलाई यहाँका एक शिक्षाप्रेमीले छोराको स्मृतिमा रु पाँच लाख सहयोग प्रदान गर्नुभएको छ । पञ्चकोट भान्सका शिवप्रसाद सापकोटाले छोरा कृष्णप्रसाद सापकोटाको स्मृतिमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गर्नुभएको विद्यालयले जनाएको छ । 

    विद्यालयले आगामी शैक्षिक सत्रदेखि आवासीय सुविधासहितको गुणस्तरीय शिक्षा प्रदान गर्न सञ्चालन गरेको सहयोग अभियानमा छोराको स्मृतिमा सहयोग प्राप्त भएको विद्यालयका प्रधानध्यापक कृष्णप्रसाद सुवेदीले बताउनुभयो । 

    रोजगारीका क्रममा गत वर्ष जापानमा कृष्णप्रसाद सापकोटाको सडक दुर्घटनामा परी निधन भएको थियो । छोराको शैक्षिक गुणस्तरप्रतिको सपनालाई साकार पार्न आफूले सहयोग गरेको पिता शिवप्रसाद सापकोटाले बताउनुभयो । विद्यालयले कक्षा ४ सम्म पूर्णरूपमा अङ्ग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ भने टाढाटाढाका विद्यार्थीलाई विद्यालयमा ल्याउन स्कूल बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । 

    विद्यालयले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कम हुने भन्दै शहरका निजी शैक्षिक संस्थामा अध्यापन गराउँदै आएका अभिभावकलाई आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा फर्काउन आग्रह गरेको छ । “विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोका रूपमा परिचित गराउन सहयोग सङ्कलन अभियान सञ्चालन गरेका छौँ”, प्रधानध्यापक सुवेदीले भन्नुभयो, “जिल्लाकै नमूना विद्यालय बनाउन सबैको सहयोगको अपेक्षा छ ।”

    नमूना विद्यालय सञ्चालनका लागि विद्यालयले यही चैत्र १० गतेदेखि स्वेच्छिकरूपमा सहयोग सङ्कलन अभियान सञ्चालन गर्दै आएको छ । अभियानबाट हालसम्म शिक्षाप्रेमी, समाजसेवी तथा अविभावकबाट रु १५ लाख सहयोग सङ्कलन भइसकेको विद्यालयका शिक्षक महेश्वर आचार्यले जानकारी दिनुभयो । गरीब बालबालिकाले निःशुल्क गुणस्तरीय शिक्षा पाउने भएपछि अभिभावक घरदैलो सहयोग सङ्कलन अभियानमा उत्साहका साथ सहभागी बनेका छन् ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast