आईतवार, असोज ५, २०७६
    स्कुल-कलेज

    प्रदेश २ मा फेरी प्रश्नपत्र बाहिरियो, परीक्षा स्थगित, रौतहटमा राजमार्ग अवरुद्ध

    शुक्रबार, १५ चैत्र २०७५, आहाखबर

    जनकपुर, १५ चैत । 

    प्रदेश २ मा शुक्रबारका लागि तय भएको सामाजिक विषयको  एसईई परीक्षा स्थगित गरिएको छ । परीक्षाअगावै बिहीबार नै प्रश्नपत्र बाहिरिएपछि सामाजिक विषयको नियमिततर्फको परीक्षा स्थगित भएको हो ।

    परीक्षा रद्द भएको आक्रोशमा वीरगञ्जका विद्यार्थीहरु सडकमा उत्रिएका छन् । उनीहरुले वीरगञ्जमा रहेको प्रहरी बिट तथा ट्राफिक लाइट तथा डिभाइडरमा आगजनी गरेका छन् । आक्रोशित विद्यार्थीले तोडफोड तथा आगजनी गरेपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ ।दमकलद्वारा पानीको फोहोरा प्रहार गरेपछि थप आक्रोशित भएका विद्यार्थीले दमकल पनि तोडफोड गरेका छन् ।

    स्थगित परीक्षा अब चैत २३ गते हुने स्रोतले जनाएको छ ।

    नियमितर्फको परीक्षा स्थगित भए पनि एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक र ग्रेड वृद्धिका परीक्षा भने प्रभावित नभएको जानकारी आएको छ ।

    प्रदेश २ मा यस वर्ष लगातार दोस्रोपटक एसईई प्रश्नपत्र बाहिरिएको हो । सामाजिक विषयको प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जाल तथा प्रदेश २ का पसलहरूमा छ्याप्छ्याप्ती भेटिएका थिए । तर, प्रश्नपत्र कहाँबाट, कसले लिग गरायो भन्ने अहिलेसम्म खुलेको छैन ।

    यसअघि विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो । त्यसबारे छानबिन नहुँदै पुनः अर्को विषयको प्रश्नपत्र पनि आउट भएको हो ।

    परीक्षा रद्द भएपछि जनपुरका विद्यार्थी पनि आक्रोशित बनेका छन् । परीक्षा रद्द भएको सूचनालगतै विद्यार्थीहरु प्रदर्शन उत्रिएका छन् ।

    प्रदेश २ को राजधानी रहेको जनपुरमा प्रदेश सरकारको कार्यालय अगाडी नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।   आक्राशित विद्यार्थीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय ढुंगा प्रहार गरी तोडफोड गरेका छन् ।  आक्राशित विद्यार्थीको ढुंगा केही सवारीमासमेत क्षति पुगेको छ । आक्राशित शिक्षामन्त्रीको राजीनामा मागेका छन् ।

    प्रदर्शनमा उत्रिएका विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी गरिरहेका छन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast