सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    निर्माण व्यवसायीले प्रतिष्पर्धा गर्न नसक्ने प्रावधान सुधार गर्न सांसदको माग

    सोमबार, ११ चैत्र २०७५, आहाखबर
    सार्वजनिक लेखा समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सहभागी सदस्यहरु । तस्वीर : रत्न श्रेष्ठ

    काठमाडौँ, ११ चैत 

    निर्माण व्यवसायीले प्रतिष्पर्धा गर्न नसक्ने प्रावधान राखी सडक ठेक्का आह्वान गर्ने विधिमा सुधार गर्न सांसदले माग गरेका छन् । 

    सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा उहाँहरुले एशियाली विकास बैंकको ऋण सहयोगमा टेण्डर गरिएको कञ्चनपुर–कमला सडकमा यस्तो व्यवस्था गरिएकोप्रति आपत्ति जनाएका हुन् । 

    सांसद विशाल भट्टराईले नेपाली व्यवसायीलाई अवसर नै नदिने गरी ठेक्का आह्वान गर्दा क्षमता विकास गर्न नपाउने बताउनुभयो । यसो हुनुमा कमिसनको खेल भएको हुनसक्ने भनी भइरहेको चर्चा सही प्रमाणित भएमा संलग्नलाई क्षमा दिनु नहुने उहाँको भनाइ थियो । सांसद मोहन आचार्यले रु दुई अर्ब पूँजी भएका र क्षमता भएका निर्माण व्यवसायीलाई अवसर दिनुपर्ने बताउनुभयो । 

    सांसद अमनलाल मोदीले विसं २०५८ मा ठेक्का लागेको पुल निर्माण सम्पन्न नभएकाले विदेशी कम्पनीलाई नै दिएपनि सडक आयोजना निर्माणमा ढिलाइ हुनु नहुने बताउनुभयो । सांसद राजेन्द्रकुमार केसीले साना साना आयोजना मात्र नेपाली निर्माण व्यवसायीलाई दिँदा कहिल्यै क्षमता वृद्धि हुन नसक्ने भएकाले यस्ता विषयमा ध्यान पु¥याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गर्नुभयो । 

    सांसद यज्ञबहादुर बोगटीले विदेशी कम्पनीलाई सडक बनाउन ठेक्का दिँदा मेलम्ची आयोजनाको जस्तो नियति भोग्नुनपरोस् भनी सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेपाली निर्माण व्यवसायीले काम पाउने गरी नीतिगत सुधार गरिनुपर्ने उहाँको भनाइ थियो । 

    सांसद हृदयेश त्रिपाठीले नेपाली निर्माण व्यवसायीलाई दिन पुनरावलोकन गर्दा एडीबीको पाइपलाइनमा रहेका अन्य आयोजनामा असर पुग्ने भएकाले विचार पु¥याउनुपर्ने बताउनुभयो । सांसद प्रेम आलेले नेपाली निर्माण व्यवसायीले पनि काम नगरेको उदाहरण रहेको, ठेक्का लिएर पेश्की बुझी पैसा सिरानीमा राखेर बस्ने गरेको बताउनुभयो । रु दुई अर्बको ठेक्का लिएर रु २० करोडको पनि काम नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो । 

    सांसद विरोध खतिवडाले नेपाली निर्माण व्यवसायीलाई ठेक्का दिँदा धेरै नेपालीले रोजगारी पाउने भएकाले सार्वजनिक खरीद ऐनमै संशोधन गरिनुपर्ने बताउनुभयो । सभापति भरतकुमार शाहले ठूला आयोजना सम्पन्न गर्ने अनुभव मन्त्रालयसँग भएकाले नेपालीलाई बेरोजगार बनाउने गरी ठेक्का दिनुनहुने बताउनुभयो । बैठकमा आज छलफल भएकाले अर्को दिन यस सम्बन्धी निर्णय लिइने उहाँको भनाइ थियो । 

    सांसदहरु मीना सुब्बा, मायाकुमारी भण्डारी, तेजुलाल चौधरी, पार्वतीकुमारी बिसीले पनि नेपाली निर्माण व्यवसायीको क्षमता वृद्धिका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

    मन्त्रालयका सचिव मधुसुदन अधिकारीले नेपाली निर्माण व्यवसायीलाई कमजोर बनाउन नखोजिएको उल्लेख गर्नुहुँदै एडीबीको मापदण्डअनुसार नै ठेक्का गरिएको बताउनुभयो । सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले कञ्चनपुर–कमला सडकमा नयाँ ढाँचाको पुल निर्माण गर्न लागिएकाले पुल प्रविधिमा आधुनिक युगमा प्रवेश गर्न लागिएको बताउनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast