आईतवार, असोज ५, २०७६
    स्कुल-कलेज

    एसईई भोलिदेखि, छात्रा धेरै, घट्दै परीक्षाको हाउगुजी

    शनिबार, ९ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, ९ चैत 

    आइतबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्रा परीक्षार्थी बढी देखिएका छन् । मुलुकभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । छात्राको संख्या २ हजार १ सय १३ ले बढी हो ।

    कुल परीक्षार्थीमा छात्रा बढी देखिए पनि प्रदेश २ मा भने कम छन् । प्रदेश २ बाट ७० हजार ५ सय ६८ परीक्षार्थीमध्ये छात्र ३७ हजार ४१ र छात्रा ३३ हजार ५ सय २७ छन् । जुन ४ हजार ५ सय १४ ले कम हो । विद्यालयमा छात्राको उपस्थिति कम रहेको पाइएपछि प्रदेश सरकारले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको छ ।

    यस वर्ष देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाका निम्ति केन्द्राध्यक्षलगायत ७२ हजार ६ सय ३१ जनशक्ति प्रत्यक्ष खटिने जनाइएको छ । साधारण, संस्कृत र प्राविधिक धारका गरी ९९ विषयको परीक्षा लिइने छ । यस पटकदेखि परीक्षा व्यवस्थापन प्रदेश सरकारले गर्दैछ ।

     

    कर्णाली प्रदेशबाट ३६ हजार विद्यार्थी एसइई दिँदै

    यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३६ हजार ५२४ विद्यार्थी सहभागी हुने भएका छन् । 

    नियमिततर्फ ३४ हजार २५, एक्जाम्टेडतर्फ एक हजार ८३८, प्राविधिकतर्फ ६४५, अपाङ्गता भएका १३ र कैदी तीन विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक भक्तबहादुर ढकालले जानकारी दिनुभयो । “दश जिल्लामा १६९ केन्द्र छन्”, निर्देशक ढकालले भन्नुभयो, “केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगी गरी दुई हजार ९७८ जनशक्ति परिचालन गरिनेछ ।” 

    त्यसैगरी, प्रत्येक केन्द्रमा १५ जना पुग्ने गरी १६९ परीक्षा केन्द्रमा दुई हजार ७० सुरक्षाकर्मीको व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार साविकका कर्णालीका जिल्लामा देखिएको सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सम्बन्धित जिल्लाका प्रजिअ तथा जिल्ला परीक्षा समन्वय समितिका अध्यक्षले सुरक्षाकर्मीको व्यवस्था गर्नेछन् । 

    शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका उपसचिव विष्णुप्रसाद गोतामेले एसइई परीक्षा तयारी र व्यवस्थापनका लागि पहिलोपटक कर्णाली प्रदेश सरकारले समन्वयको भूमिका निर्वाह गर्न थालेको बताउनुभयो । “हामीले यो परीक्षाका लागि चार लाख १३ हजार २७१ उत्तरपुस्तिका आफैँले छापेका छौँ”, उपसचिव गोतामेले भन्नुभयो, “प्रदेशबाट परीक्षाको व्यवस्थापन भए पनि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट दुई लाख ८९ हजार २८९ प्रश्नपत्र यहाँ पठाइएको र प्रश्नपत्र १० वटै जिल्लामा पुगिसकेका छन् ।” 

    प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले साउनमा हुने एसइई ग्रेडवृद्धि परीक्षासमेतका लागि भनेर रु दुई करोड ८६ लाख पाँच हजार बजेट विनियोजन गरेको उहाँको भनाइ छ । चैत १० देखि २१ गतेसम्म हुने परीक्षाका लागि सबै तयारी पूरा भएको एसइई परीक्षा २०७५, तयारी तथा व्यवस्थापन समन्वय समिति कर्णाली प्रदेश सुर्खेतले जनाएको छ । 

     

    घट्दै एसइई परीक्षाको हाउगुजी

    जुनसुकै परीक्षामा एक प्रकारको मनोवैज्ञानिक दबाब हुने भए पनि विगतको प्रवेशिका (एसएलसी) मा जस्तो विद्यार्थी र अभिभावकमा त्रास र डरको भार घटेको पाइएको छ । सरकारले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षाको मान्यता दिएपछि कक्षा १० को एसइई परीक्षाले नीतिगतरुपमै राष्ट्रिय महत्व पाउन छाडेको छ । 

    संविधान : माध्यमिक शिक्षासम्मको सञ्चालन र व्यवस्थापनको अधिकार स्थानीय तहमा दिइएकाले पनि परीक्षा व्यवस्थापन क्रमशः सङ्घीय संरचनामा जान थालेको हो । विगतमा यो परीक्षालाई ‘फलामे ढोका¬’ को सङ्ज्ञा दिने गरिएकाले यसका नाममा एक प्रकारको हाउगुजी थियो । यसरी हाउगुजी सिर्जना गर्दा विद्यार्थीले जानेको विषयमा समेत सन्तोजनक उत्तर दिन नसक्ने अवस्था थियो । आफू पढेको भन्दा अन्यत्रको विद्यालयमा परीक्षा केन्द्र तोकिने प्रणालीले पनि विद्यार्थी र अभिभावकमा परीक्षाको धङ्धङ्गी देखिन्थ्यो । 

    राष्ट्रिय परीक्षा बोर्डले सातै प्रदेशमा कार्यालय खोली परीक्षा सञ्चालन गर्ने योजना लिए पनि एसइईका लागि विगतको परीक्षा नियन्त्रण कार्यालयकै संरचनामा व्यवस्थान गरिरहेको छ । यस वर्षबाट परीक्षाको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast