मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    “बलिदान खेर गएको छैन, आजको परिवर्तन शहीदको सपनाको फल”

    बुधबार, ६ चैत्र २०७५, आहाखबर

    काभ्रेपलाञ्चोक, ६ चैत :

    पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले जनताको बलिदान खेर नगएको बताउनुभएको छ । जनसांस्कृतिक महासङ्घ नेपालद्वारा मंगलबार काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१ औँ शहीद दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै शहीदको बलिदानीका कारण आजको परिवर्तन सम्भव भएको बताउनुभयो । 

    उहाँले भन्नुभयो, “बलिदान खेर गएको छैन, आजको परिवर्तन शहीदको सपनाको फल हो ।” उहाँले नेकपाले शहीद परिवारप्रति सम्मान व्यक्त गर्दै आएको र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पूर्वप्रम खनालले ७० को दशक पार्टी एकीकरण र शुद्धिकरणको दशक भएको बताउनुभयो ।

    पूर्वप्रम खनालद्वारा सम्बोधन पूर्वप्रधानमन्त्री झलनाथ खनाल जनसांस्कृतिक महासंघ नेपालद्वारा मंगलबार काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१औँ शहीद दिवस तथा जसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्वीर : राजकुमार पराजुली, काभ्रेपलाञ्चोक

    “पार्टी एकताको विकल्प छैन”, उहाँले भन्नुभयो, “अब नेकपा एक भएर ठूलो शक्तिका रुपमा स्थापित हुन्छ, नेपालमा अब योबाहेक कुनै शक्तिशाली पार्टी हुँदैन ।” उहाँले पूँजीवादबाट मुक्त हुन नेतालाई आग्रह गर्नुभयो । 

    पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्केको केही दिनमै पार्टी एकताको टुङ्गोे लाग्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “राजनीतिक प्रतिवेदन पनि तयार हुँदैछ, अध्यक्ष कमरेड आएपछि सबै टुङ्गो लाग्नेछ ।” 

    पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले शहीदको बलिदानीबाट प्राप्त उपलब्धीलाई रक्षार्थ संस्थागत गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एकताबद्ध भएर प्राप्त उपलब्धीलाई संस्थागततर्फ लाग्नुपर्छ ।” नेकपा स्थायी समिति सदस्य मणि थापाले जनताभन्दा ठूलो कुनै शक्ति नभएकाले जनताकै शक्तिलाई सर्वोपरी मान्नुपर्ने बताउनुभयो । 

    नेकपा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, प्रदेश सांसद लक्ष्मण लम्साल, जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष सरल सहयात्री, संयोजक खगेन्द्र राई र कोषाध्यक्ष प्रगति महराले शहीदको योगदानबारे चर्चा गर्नुभएको थियो । 

     

    स्रष्टा सम्मान 

    जनसांस्कृतिक महासङ्घ नेपालद्वारा काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१ औँ शहीद दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान आयोजना गरी विविध विधाका आठ जना स्रष्टालाई सम्मान गरिएको छ । 

    कार्यक्रममा नेता खनालले दीर्घ सेवातर्फ जेबी टुहुरे, सङ्गीततर्फ खुसीराम पाख्रिन ९मरणोपरान्त०, साहित्य कन्ता शर्मा, चलचित्रतर्फ प्रेम सुब्बा, नाटकतर्फ कृष्णभक्त महर्जन, गायनतर्फ कर्णबहादुर परियार ‘विद्रोही’, ललितकलातर्फ नगेन्द्र भण्डारी र नृत्यतर्फ शान्ति कठायत ‘प्रतिक्षा’लाई सम्मान गर्नुभएको हो । 

    महासङ्घले सशस्त्र द्वन्द्वताका २०५५ साल चैत ५ गते अनैकोटस्थित एक घरमा बसिरहेका बेला सुरक्षाकर्मीको गोलीबाट जनकलाकार च्याङ्वा लामा, चिनिमाया लामा, गुम्बासिं तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र मञ्जु कुँवरको मृत्यु भएको सम्झनामा अनैकोटमा शहीद दिवस मनाउँदै आएको छ । 

    उनीहरुको सम्झनामा राखिएको शहीद–स्तम्भको पूर्वप्रम एवं वरिष्ठ नेता खनालले अनावरण गर्नुभयो । कार्यक्रममा शहीदसम्बन्धी गीत, नृत्य तथा कविता प्रस्तुत गरिएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast