बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    सरकारको निर्देशन – ‘हतियारसहित भेटिए घुँडामुनि गोली हान्नू’

    बिहिवार, ३० फागुन २०७५, आहाखबर

    काठमाडौँ, ३० फागुन 

    सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशभर सुरक्षा सतर्कता बढाइएको छ । 

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बिहिबार नेपाल बन्दको आह्वान गरेको छ । सरकारले दमन गरेको, संकटकालको जस्तै व्यवहार गरेको, पार्टीका नेता तथा कार्यकतालाई पक्राउ गरेको विरोधमा नेपाल बन्द गरेको सो पार्टीले जनाएको छ ।

    सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

    स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ । ‘चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनि गोली हान्नेसम्मको निर्देशन छ,’ स्रोत जनाएको छ ।

    बिनाहतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालाई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च निगरानी राख्न निर्देश छ । सरक्षाकर्मीलाई आफ्नो ज्यान, हतियार, कार्यालय, युनिटको सुरक्षा रणनीतिसहित सतर्क रहन भनिएको छ । 

    सरकारले भने विप्लवको पार्टी नेकपालाई राजनीतिक दलको मान्यता नदिई समूह भनेको छ । सो समूहलाई राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ ।

    केही समयदेखि बन्दका घटना रोकिँदै आएका थिए । उपत्यका बन्द, नेपाल बन्दलाई सर्वसाधारणले अवज्ञा गर्दै पनि आएका थिए । तर, बिहीबारको बन्दमा सर्वसाधारणमा अलि त्रासको वातावरण देखिएको छ । काठमाडौं उपत्यकामा न्यून मात्रामा सवारीसाधन चलेका छन् ।

    स्कुल कलेज, उद्योग कलकारखाना बन्द गरिएको छ । स्कुल बन्दले अन्तिम परीक्षा दिने ५० लाख बढी विद्यार्थी प्रभावित भएका छन् ।
    सरकारले सुरक्षा व्यवस्था निकै कडाइ गरेको छ । हतियार बोकेको व्यक्ति वा समूह देखिएमा सिधै गोली हान्ने अधिकारसमेत दिइएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    एक डीएसपीका अनुसार हरेक जिल्लाका दुर्गम क्षेक्रमा सुरक्षा जनशत्ति बढाउने, गस्ती जारी राख्ने र विकास एवं सञ्चार संरचनाको सुरक्षामा विशेष सतर्कता राख्न निर्देशन छ । सामान्य कार्यकर्तालाई पनि पिछा गर्ने, बासस्थान निगरानी गर्ने र एक जिल्लादेखि अर्को छिर्ने सवारीमा समेत जाँच कडा पार्ने निर्देशन छ ।

    स्रोतका अनुसार चन्द समूहका नेता–कार्यकर्तालाई पछ्याउने, तर्साउने र मनोवैज्ञानिक दबाबमार्फत वार्तामा ल्याउने सरकारको रणनीति पनि रहेकाले त्यसैअनुसारका गतिविधि गर्ने सुरक्षा निकायको आन्तरिक सर्कुलर छ । आन्तरिक सर्कुलरमा प्रहरीलाई एक जना मात्र बाहिर नहिँड्न, लामो गस्ती समूहमा हिँड्न, आफू जोगिएर फायर खोल्न भनिएको एक प्रहरी अधिकृतले बताए । प्रहरीका दुर्गमका सुरक्षा युनिटमा जनशक्ति बढाउनेदेखि आवश्यक परे सशस्त्र प्रहरीसँग पनि सहकार्य गर्न गृह मन्त्रालयको निर्देशन छ ।

    यसैबीच, नेपाल बन्दको अवज्ञा गरेको भन्दै बिहीबार बिहानै मकवानपुरको थाहा नगरपालिका–४ नयाँगाउँमा ट्रकमा आगजनी गरिएको छ । काठमाडौबाट हेटौंडातर्फ जाँदै गरेको ना५ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी आगजनी गरिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

     

    चितवन प्रभावित

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि परेको छ । बन्दका कारण विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । पूर्व पश्चिम राजमार्गदेखि जिल्लाका भित्री सडकहरुमा पनि गाडीहरु चलेका छैनन् ।

    जिल्लामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था निकै कडा पारिएको चितवन प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका वडा नंं. ५ को कार्यालयमा सिलिण्डर बम विस्फोट भएपछि चितवनमा झनै त्रास सिर्जना भएको छ । विप्लव समूहले आफ्नो कार्यकर्तामाथि गोली प्रहार गरिएको भन्दै विरोध स्वरुप आज नेपाल बन्दको आह्वान गरेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast