शुक्रबार, कार्तिक २९, २०७६
    बिदेश

    संसारभर बोइङका ७३७ म्याक्स विमान उडानमा रोक

    बिहिवार, ३० फागुन २०७५, -बिबिसी .

    काठमाडौँ, ३० फागुन 

    अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण जहाजहरूमा उडान रोक लगाएको छ ।

    यससँगै उसले निर्माण गरेका ३७१ वटा त्यस्ता विमानहरू अर्को निर्णय नभएसम्मका लागि उड्ने छैनन् ।

    अमेरिकी उड्डयन नियामक निकायले गत आइतबार उक्त मोडेलको एउटा विमान दुर्घटना भएको इथियोपियाबाट नयाँ प्रमाण भेटिएपछि त्यस्तो निर्णय लिइएको बताएको छ ।

     

    कस्तो प्रमाण ?

    भेटिएको नयाँ प्रमाण र भू-उपग्रहबाट लिइएका पछिल्ला केही विवरणपश्चात् यस्तो निर्णय लिइएको अधिकारीहरूले बताएका छन् ।

    यसअघि अमेरिकी संघीय उड्डयन प्रशासनले उडानहरू रोक्ने आधार नभेटिएको बताएको थियो ।

    बुधवार भने उक्त निकायका कार्यवाहक प्रशासक डेनियल इल्वेलले भनेका छन्, "हामी सबै यो कुरामा स्पष्ट भएका छौँ कि दुर्घटना भएको इथियोपियन एयरलाइन्सले लिएको बाटो र उसको व्यवहार लायन एयरको जस्तै थियो। जमिनमा पाइएका प्रमाणले पनि त्यस्तै देखायो ।"

    सोही मोडेलको लायन एयरको विमान पाँच महिनाअघि इन्डोनेसियामा दुर्घटना हुँदा १८९ जनाले ज्यान गुमाएका थिए ।

     

    उजुरी

    यसअघि राष्ट्रपति ट्रम्पले दुर्घटनास्थल र अन्यत्रबाट प्राप्त विवरण एवं उजुरीका आधारमा आपतकालीन आदेश दिन लागेको बताएका थिए ।

    गत वर्षको अन्त्यतिर केही अमेरिकी पाइलटहरूले उक्त विमानलाई उडाउने बेलामा नियन्त्रण गर्न समस्याहरू भएको उजुरी गरेका थिए ।

    बोइङले भने उक्त मोडेलको विमानको सुरक्षामा आफू सुनिश्चित रहेको बताएको छ ।

    उडानहरू रोक्नुलाई भने उसले 'निकै उच्च स्तरको सावधानी' अपनाएको बताउँदै मानिसहरूलाई पुन: आश्वस्त पार्न चाहेको जनाएको छ ।

    यसअघि नै ब्रिटेन, युरोपेली संघ, चीन, अस्ट्रेलिया र भारत लगायतका देशले आफ्ना विमानसेवामा उक्त मोडलको जहाजलाई उड्न रोकिसकेका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast