बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    संसद बैठक चल्न नदिने राजपाको निर्णय

    बुधबार, २९ फागुन २०७५, आहाखबर

    काठमाडौँ, २९ फागुन । 

    राष्ट्रिय जनता पार्टी (राजपा) ले बुधबार बस्न लागेको प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने निर्णय गरेको छ । संसद बैठक दिउँसो १२ बजे बस्दैछ ।

    सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले बुधबार बस्ने संसद बैठक अवरुद्ध पार्ने निर्णय गरेको हो ।  राजपाले मधेस आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लघंनका घटनाबारे छानवीन गर्न गठित न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै संसद बैठक अबरुद्ध पार्ने निर्णय गरेको हो ।

    ‘हामीले पटक पटक लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखमार्फत ध्यानाकषर्ण गराएका थियौं,’ राजपा नेता राजकिशोर यादवले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद बैठक अवरुद्ध पार्ने निर्णय भएको छ ।’

    यसअघि राजपाले उक्त प्रतिवेदन सार्वजनिक गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । सभामुख कृष्णबहादुर महराले पनि प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेका थिए । 

    सरकारले मधेस आन्दोलन एवं थारु आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लघंनका घटनाबारे छानवीन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरेको थियो । आयोगले २०७४ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाइसकेको छ । तर सरकारले उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन ।

    राजपाले आफूहरुको माग सम्वोधन गर्ने शर्तसहित सरकारलाई बाहिरै बसेर समर्थन गर्दै आएको थियो। 

    सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको हुनाले बैठक अवरुद्ध पारिने राजपा नेता एवं सांसद राजकिशोर यादवले बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast