आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    सार्वजनिक बिदा

    बिहीवार राष्ट्रियशोक ! अधिकारीको राजकीय सम्मानसाथ अन्तिम बिदाई हुने

    बुधबार, १५ फागुन २०७५, आहाखबर
    फाइल फोटो

    काठमाडौं, फागुन १५ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्याने गरी बुधवार पूर्वी नेपालको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । बैठकले भोलि अर्थात् बिहिबार राष्ट्रियशोक मनाउने निर्णय गरेको छ।
     

    मन्त्रिपरिषद्ले दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने एवम् घटनाबारे थप यथार्थ बुझ्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय समेत गरेको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर बुधबार ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको थियो । 

    गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित छ र क्याप्टेनसहित सात जनाको मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार मन्त्री अधिकारीसहित सवार छ र क्याप्टेन गरी सात जनाको शव फेला परेको थियो । 

    शव ल्याउनका लागि नेपाली सेनाको एमआई १७ र बेल हेलिकप्टर उडेको थियो । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडामा आयोजित कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिटर यता दुर्घटना भएको थियो । 

     

    पर्यटनका हस्ती शेर्पाको अवसान

    नेपालको सामाजिक आर्थिक विकासमा उल्लेखनीय योगदान दिनुभएका पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको ताप्लेजुङको दारेढुङ्गामा आज भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ । 

    यति एयरलायन्ससहित विभिन्न पर्यटन क्षेत्रसँग सम्बद्ध शेर्पा पर्यटन क्षेत्रका एक हस्ती हुनुन्थ्यो । उहाँले थामशेर्कु ट्रेकिङ, यति एयरलाइन्स, तारा एयरलाइन्स, हिमालयन एयरलाइन्स तथा गोकर्ण रिसोर्टको स्थापना गरी पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको थियो ।

    यति एयरलाइन्सका प्रबन्ध निर्देशकशेर्पा आफ्नै कम्पनी यति एयरलाइन्समा सन् १९९८ सेप्टेम्बर २१ देखि कार्यरत रहनुभएको सो एयरलाइन्सका वरिष्ठ अधिकारी भीम राईले जानकारी दिनुभयो । 

    शेर्पाले थामशेर्कु ट्रेकिङको कार्यकारी निर्देशक तथा यति माउन्टेन होम्स तथा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्देशक पनि भई सेवा गर्नुभएको थियो । उहाँको लगानी डाइनेष्टी एयरलायन्सका साथै केही होटेलमा पनि छ । अन्ठाउन्न वर्षअघि सोलुखुम्बुको जुगिङमा पाङग्ुममा जन्मनुभएका शेर्पाका श्रीमती र दुई छोरा छन् ।

     

    हेलिकप्टरमा रहेर ज्यान गुमानउनेहरु :
     

    माननीय मन्त्री रवीन्द्र अधिकारी
    यति एयरलाइन्सका अध्यक्ष आङ्छिरिङ शेर्पा
    प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल
    नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ
    नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया
    हेलिकप्टरका पाइलट प्रभाकर केसी
    मन्त्री अधिकारीका अङ्गरक्षक अर्जुनकुमार घिमिरे

     

    सभामुख महराद्वारा समवेदना

    सभामुख कृष्णबहादुर महराले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको घटनाले आफू अत्यन्तै मर्माहत भएको बताउनुभएको छ । 

    बुधबार शोक वक्तव्य जारी गर्दै उहाँले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि एवम् शोकाकुल परिवारजन तथा सबैमा समवेदना व्यक्त गर्नुभएको छ । वक्तव्यमा उहाँले भन्नुभएको छ, “मन्त्री अधिकारीको निधनले देशले एक जना मन्त्रीलाई मात्रै गुमाएको छैन, भविष्यमा देशकै नेतृत्व गर्न सक्ने सक्षम प्रतीभालाई गुमाएको छ । उहाँ राजनीतिक हिसाबले प्रष्ट, अध्ययनशील र दूरदृष्टि भएको युवा नेताका रुपमा हुनुहुन्थ्यो ।” 

    सभामुख महराले देश विकासको स्पष्ट दृष्टिकोण र केही योजना बोक्नुभएका मन्त्री अधिकारीको निधनले देशलाई अपूरणीय क्षति भएको उल्लेख गर्नुभएको छ । उहाँले स्थल तथा हवाई दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न के गर्न सकिन्छ, त्यसतर्फ गम्भीर भई आवश्यक पहलकदमी लिन सरकारलाई विशेष आग्रहसमेत गर्नुभएको छ । 

     

    गण्डकी प्रदेश प्रमुखद्वारा दुःख व्यक्त

    गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख कुँवरले शोक वक्तव्य जारी गर्दै ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री अधिकारीसहित सबैको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ । 

    शोक वक्तव्यमा शोकाकुल परिवारजन, आफन्त, इष्टमित्रप्रति समवेदना व्यक्त गर्दै ईश्वरले धैर्यधारण गर्नसक्ने शक्ति प्रदान गरुन् भन्ने उहाँले कामना गर्नुभएको छ । प्रमुख कुँवरले घटनामा तदारुकताका साथ उद्धारमा खटिने सुरक्षाकर्मी, स्थानीय बासिन्दा सबैलाई धन्यवादसमेत दिनुभएको छ । 

     

    राष्ट्रिय जनमोर्चाद्वारा दुःख व्यक्त

    राष्ट्रिय जनमोर्चाले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएकामा दुःख व्यक्त गरेको छ । 

    पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा आज जारी विज्ञप्तिमा उक्त दुर्घटनामा परेका मृतकप्रति श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको उल्लेख छ । पाथीभरा मन्दिरको दर्शन गरी फर्कने क्रममा प्रतिकुल मौसमका कारण हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री अधिकारीसहित सात जनाको ज्यान गएको थियो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast