आईतवार, मंसिर १, २०७६
    राज्य-समाज

    जनयुद्धमा ज्यान गुमाएका परिवारसँग बाबुरामले मागे माफी !

    बुधबार, १ फागुन २०७५, आहाखबर
    (फाईल तस्बिर)

    गोरखा, १ फागुन 

    नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताका प्रतिनिधिले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । 

    गोरखाको पालुङटार पुगेका उनले जनयुद्धप्रति गर्व भए पनि मान्छे मारिएकोमा क्षमायाचना मागेका हुन् ।

    गोरखाको पालुङटारमा बुधबार स्थानीय जनप्रतिनिधिसँगको छलफलमा डा भट्टराईले जनताले मत दिएर जिताएकाले उनीहरुको भावना बुझ्न नसके देशको समृद्धि हुन नसक्ने बताउनुभयो । पूर्वपश्चिम जागरण अभियानका क्रममा गोरखा आइपुग्नुभएका उहाँले नेपाली जनताको चाहना विकास र समृद्धि भएकाले सबैले इमान्दारिता साथ आफूले गरेको प्रतिबद्धताअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । “सुशासन र विकास निर्माणका लागि सबै प्रतिबद्ध भए देशको विकास गर्न गाह्रो छैन,” डा भट्टराईले भन्नुभयो, “यहाँ सबैमा इमन्दारिताको खाँचो छ ।” 

    ‘जनयुद्धका शहीद, बेपत्ता परिवारजन, घाइते सबैप्रति म सधैं नतमस्तक रहन्छु । जनयुद्धको राजनीतिक नेतृत्व लिएकोमा मलाई गर्व छ । कैयौं मान्छेको ज्यान गयो त्यसमा दुःख छ। मारिनु नपर्ने साथीहरू मारिनुभयो । अत्यन्त दुःख छ, म क्षमायाचना गर्न चाहन्छु । राजनीतिमा पनि त्याग र बलिदान नगरी उपलब्धि प्राप्त नहुने रहेछ’ उनले भने, ‘राजतन्त्र हटाउन जनयुद्ध गरिएको थियो । प्राप्त गरियो, कैयौं कुरा बाँकी छ ।’

    नेपाली जनताको त्याग र बलिदानबाट नेपालमा गणतन्त्र आएकाले शहीदले देखाएको बाटो भुल्न नहुने उहाँको भनाइ थियो । तत्कालीन नेकपा माओवादीले शुरु गरेको १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट अहिलेको परिवर्तन सम्भव रहेको डा भट्टराईले बताउनुभयो । जनयुद्धको राजनीतिक नेतृत्व गर्ने अवसर पाएकामा आफूलाई गर्व लागेको र त्यही आन्दोलनका कारण नेपालमा राजतन्त्रको अन्त्य सम्भव भएको उहाँले बताउनुभयो । जनताको भावना र चाहना बुझ्न मध्यपहाडी लोकमार्ग जागरण अभियानमा हिँडेको डा भट्टराईले बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast