शुक्रबार, मंसिर ६, २०७६
    स्कुल-कलेज

    कृषि पढ्ने विद्यार्थीको कोटा बढाइदिन चीनसँग मन्त्रीको आग्रह

    कूल ६० लाई चीन लगेर र अन्य २४० किसानलाई नेपालमै तालीम दिइने सहमति

    बिहिवार, १७ माघ २०७५, आहाखबर

    काठमाडौँ, १७ माघ

    कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गर्नुभएको छ । 

    आफूसँग शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलाई उहाँले पछिल्लो दिनमा निकै थोरै सङ्ख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन जाने गरेकाले त्यो सङ्ख्या बढाउन आग्रह गर्नुभएको हो । 

    आधिकारिक रुपमा चीनका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको सङ्ख्या बढाउन सके अन्य मुलुकमा रोजगारी गर्न जानेको सङ्ख्या घट्ने र त्यसले कृषिलाई नै टेवा पु¥याउने मन्त्री खनालले विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

    उहाँले नेपालका हिमाली र पहाडी जिल्लामा प्रयोग हुने कृषि औजार चीनमै बनेकाले त्यसको अध्ययनका लागि पनि पढाइ र तालीम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । 

    मन्त्री खनालले नेपाली कृषकका लागि आधुनिक कृषि तालीमको व्यवस्था गर्न आग्रह गर्दै चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने गरी गत पुस ४ गते नै सहमति भइसकेको स्मरण गर्नुभयो । 

    सो परियोजनाका लागि नेपालका किसान र प्राविधिक कर्मचारी गरी कूल ६० लाई चीन लगेर र अन्य २४० किसानलाई नेपालमै तालीम दिइने सहमति भएको छ । 

    मन्त्री खनालले कृषि क्षेत्रमा सहयोग आदानप्रदान गर्न कृषि मन्त्रालय, परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासबीच समन्वयकारी भूमिका निर्वाह गर्न एक कार्यदल बनाउन पनि प्रस्ताव गर्नुभएको छ । 

    जवाफमा राजदूत होउले थप छलफल गरेर छिट्टै नेपालले प्रस्ताव गरेअनुसार सहमति गर्न चीन तयार रहेको बताउनुभयो । उहाँले नेपाल र चीनबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै आफ्नो कार्यकालमा त्यसलाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

    चीनले कृषि र प्रविधिमा निकै फड्को मारेको बताउँदै राजदूतले होउले एक असल छिमेकीको नाताले त्यो सीप नेपालका लागि पनि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast