शुक्रबार, मंसिर ६, २०७६
    स्कुल-कलेज

    भक्तपुर नगरपालिकामा गरीब जेहेनदार विद्यार्थीलाई ५ लाख शैक्षिक ऋण दिने

    शनिबार, ५ माघ २०७५, आहाखबर

    भादगाउँ, ५ माघ  

    भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ । 

    स्थायी बसोबास गर्ने गरीब, जेहेनदार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु पाँच लाखसम्मको ऋण दिने निर्णयलाई नपाले सर्वसम्मतिले पारित गरेको हो । 

    निर्देशिका अनुसार विधायन समितिका संयोजक हरिराम सुवालले नपाको बजेटलाई मध्यनजर राखी विद्यार्थीलाई ऋण दिने प्रावधान राखिएको र किस्ताबन्दीमा ऋण असुल गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । नगरप्रमुख सुनिल प्रजापतिले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ स्थानीय तहको निर्वाचनको दौरानमा घोषणापत्रमा उल्लेख भएअनुसार नगरका गरीब तथा जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्ने उद्देश्यका साथ ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “ऋण दुरुपयोग हुनेप्रति सचेत हुँदै आवश्यक प्रक्रिया अपनाई ऋण असुलउपर गर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।” 
    निर्देशिका पारित गर्नुअघि नगरसभा सभासद् जीतेन्द्र मुनंकर्मी, हरिरत्न गोर्खाली, गोविन्द दुवाल, सिद्धिराम अवाल, बलराम न्हिसुतु, पुर्णगोपाल राजचल, श्यामसुन्दर मातां, रञ्जना त्वाती र राजेन्द्र माकलगायतले शैक्षिक ऋण दुरुपयोग हुनेप्रति सचेत हुनुपर्ने, ऋण चुक्ता गर्ने समायावधि थप्नुपर्ने, पुस्तौँदेखि नगरमा बसोबास गर्दै आएका स्थायी नगरवासीलाई मात्र ऋण दिनुपर्ने, ऋणको ब्याज लाग्ने समय स्पष्ट हुनुपर्नेलगायतका सुझाव दिनुभएको थियो । 

    त्यसैगरी भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ समेत पारित गरेको छ । अपाङ्गता भएका नगरवासीलाई सहज ढङ्गले परिचयपत्र वितरण गर्ने उद्देश्यले कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको विधायन समितिका सयोजक सुवालले बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast