शनिबार, कार्तिक ३०, २०७६
    राज्य-समाज

    प्रधानसेनापतिले ६ दिने भारत भ्रमण गर्नुहुने, सेना प्रवक्ता ढकालद्वारा कार्यभार ग्रहण

    भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट पुस २८ गते सम्मान गर्नुहुने कार्यक्रम रहेको जानकारी

    बिहिवार, २६ पौष २०७५, आहाखबर

    काठमाडौँ, २६ पुस 

    प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलिदेखि छ दिने भारत भ्रमण गर्नुहुने भएको छ । 

    प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उहाँ आफ्ना भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । 

    भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट पुस २८ गते सम्मान गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार यहाँ जनाएको छ । 

    दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । साथै उहाँले सेनाका समकक्षीस्थल सेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट गर्नुहुनेछ । 

    सेना प्रवक्ता ढकालद्वारा कार्यभार ग्रहण 

    नेपाली सेनाको प्रवक्ता एवं जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक पद सहायक रथी यामप्रसाद ढकालले सम्हाल्नुभएको छ । 

    यसअघिका प्रवक्ता एवं निर्देशक सहायक रथी गोकुल भण्डारीले आज एक कार्यक्रमका बीच सहायक रथी ढकाललाई कार्यभार हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 
    सहायक रथी ढकालको कार्यकालमा नेपाली सेना र आमसञ्चार जगत्बीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुनुको साथै आमसञ्चार जगत्को सहयोग यथावत रहिरहने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा जनाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast