मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    नेपाल र फ्रान्सबिच ७० औं वर्षगाँठ मनाउने सहमति, मिस नेपाल श्रृंखला सद्भावना दुतमा नियुक्त

    बुधबार, २५ पौष २०७५, आहाखबर

    काठमाडौं, २५ पुस ।

    नेपाल र फ्रान्सबीच २०१९ मा उच्चस्तरीय भ्रमण गराउँदै दुई देशबीच कुटनैतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाठ मनाउन सहमति भएको छ । यसैबीच मिस नेपाल श्रृंखला खतिवडा सद्भावना दूत तोकिएकी छन् । दुवै देशका परराष्ट्र सचिवस्तरीय बैठकले श्रृंखलालाई सद्भावना दूत नियुक्त गरेको हो ।

    सचिवस्तरीय वार्तापछि परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव शंकरदास बैरागी र फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तेनियोले संयुक्त रुपमा उनलाई सद्भावना दूत नियुक्तिपत्र हस्तान्तरण गरे । मिस नेपाललाई दुवै देशका सरकारी तहबाट सद्भावना दूत स्वीकार गरिएको सम्भवतः यो पहिलो पटक हो ।

    दुई देशबीच सद्भावना दूत नियुक्त भएपछि श्रृंखलाले आफू विश्वको परिस्थिति बुझेको नेपाली युवाको प्रतिनिधित्व गर्दै सद्भावना दूतको भूमिकामा रहने बताइन् । उनले नेपालको पर्यटन सम्भाव्यतालाई प्रचार प्रसार गर्न र नेपाललाई प्रकृति, संस्कृति, कला, सभ्यता जस्ता विविध पक्षमा धनी देशका रुपमा विश्वमा चिनाउन लागिपर्ने बताइन् ।

    परराष्ट्र सचिव शंकरदास वैरागी र फ्रान्समा युरोप ममिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान नेतृत्वको प्रतिनिधि मण्डलबीचको छलफलमा दुई देशबीच साझा मुद्दामा एकसाथ उभिने सहमति भएको परराष्ट्र सचिव वैरागीले जानकारी दिए।

    नेपाल र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापित भएको अप्रिलमा ७० वर्ष पुग्दैछ । यो वर्ष दुवै देशले सुंयुक्त रुपमा र आ आफ्नै ढंगले वर्षगाँठ मनाउने कार्यक्रमहरु तय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । दुई देशबीच यस वर्ष उच्चस्तरीय भ्रमण आदान प्रदान हुनेबारमो पनि सचिवस्तरीय वार्तामा छलफल भएको बैरागीले बताए ।

    सोही अवसरमा नेपाल फ्रान्स दौत्य सम्बन्ध स्थापित भएको ७० औं वर्षगाँठ झल्काउने लोगो समेत सार्वजनिक गरिएको थियो । फ्रान्सेली दूतावासले बिभिन्न विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धाबाट आयुश कुँवरले बनाएको लोगो छानेको हो ।

    यसैबीच नेपाल भ्रमणमा रहेका फ्रान्सका परराष्ट्र मन्त्रालयका महासचिवले ४४ वर्ष अगाडि विद्यार्थी हुँदा नेपाल भ्रमणमा आएको सम्झना गरेका छन् । सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'मैले यतिवेला ४४ वर्ष अगाडि नेपाल भ्रमणमा आउँदाको क्षण सम्झिरहेको छु । जतिवेला म विद्यार्थी थिएँ । पदयात्रामा गएको हेलम्वु सुन्दरीजल घुमेको सम्झना ताजा भएको छ। नेपाल साँच्चिकै राम्रो छ ।'

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast