मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    सरकार र डा. केसीबिचको सहमति तोडियो, केसीको १६ औं अनशन आजैदेखि !

    आफूसँग गरेको सम्झौता विपरीत प्रस्ताव गरेको विधेयकलाई समितिले सच्याउने आशामा दिउँसो ४ बजेसम्म उनले समय दिएका थिए

    बुधबार, २५ पौष २०७५, आहाखबर

    काठमाडौँ, २५ पुस

    बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ बहुमतले पारित गरेसँगै सरकार र डा. गोविन्द केसीबीच यसअघि भएको सहमति तोडिएको छ । 

    सहमति तोडिएसँगै डाक्टर केसीले आजैदेखि अनसनमा बस्ने घोषणा गरेका छन् । उनी १६ औं अनसन बस्न प्रदेश नम्बर १ को इलाम पुगिसकेका छन् । 

    सरकारले केसीको माग पूरा गर्न गत पुस १७ गतेसम्मको समय माग गरेको थियो । तर, सो समयभित्र माग पूरा नभएपछि केसीले पत्रकार सम्मेलन गर्दै आजका लागि अल्टिमेटम दिएका थिए ।

    अल्टिमेटमभित्र विधेयक पारित भएपनि उनको अधिकांश माग पूरा नभएकाले आजैदेखि अनसन सुरु गर्न लागेको उनका सहयोग प्रितम सुवेदीले जानकारी दिए । 

    आज ४ बजे सम्ममा अनशन बसिसक्ने सुवेदीले बताए । तर अनशनस्थलको टुङ्गो भने लाग्न बाँकी रहेको छ । 

    सुवेदीले भने, ‘४ बजे अघिनै अनशन बसिसक्ने तयारी हुँदैछ । सर अहिले ठाउँ खोज्दै हुनुहुन्छ ।’

    आज बहुमतले पारित भएको विधेयकको पक्षमा सत्तारुढ दलका १४ जना सांसदले मत दिएका थिए भने विपक्षमा प्रतिपक्षका ४ जनाले मत दिएको समिति सभापति जयपुरी घर्तीले जनाकारी दिइन् । 

    विपक्षमा गगन थापा, उमाकान्त चौधरी, मान बहादुर विक र नमिता चौधरीले फरक मत राखेका थिए । 

    बैठकपछि काँग्रेस सांसद थापाले उदेकलाग्दो किसिमले विधेयक पास गरेको प्रतिक्रिया दिए । सभापति घर्तीले फरक मत राख्ने सांसदहरुले संसदमा पनि राख्न सक्ने प्रतिक्रिया दिएकी छन् । 

    संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिमा सोमबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनमाथि छलफलक्रममा नेकपा सांसदहरूले केसीसँग भएको सम्झौता हुबहु राख्न नसकिने बताएका थिए ।

    उपसमितिले बहुमतबाट पारित गरेको प्रतिवेदन सोमबार समिति बैठकमा पेस गरिएको थियो । 

    यस्तो थियो सम्झौता:
    – सरकार र डा. केसीबीच सहमति, २७ औं दिनमा अनशन तोडियो [सहमतिपत्रसहित]

    यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पुस १७ देखि अनसन बस्ने भनेर इलाम आएका थिए। तर संसदीय उपसमितिले दुई दिनको समय मागको भन्दै ७ दिन अनसन स्थगित गरेका थिए।

    राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको छ। विधेयकमा भएको विवादित विषयमा छलफल गरेर आवश्यक सुझाव दिन गठित उपसमितिले आइतबार बुझाएको प्रतिवेदन बुधवार हुबहु पारित गरिएको हो।

    यसपटक डा. केसीका मागहरु:
    १. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता कार्यन्वयन गरियोस् ।
    क) सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर शिक्षा तथा स्वास्थ्य समितिबाट अविलम्ब चिकित्सा शिक्षा बिधेयक पारित गरियोस् ।

    ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारीलगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् ।

    ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग ,इलाम ,पाँचथर, तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई उपचारका लागि इलाममा, भोजपुर,ओखल्ढुंगा, खोटांग, सप्तरीलगायतका जिल्ला समेटेर उदयपुरमा, पश्चिमी पहाडका डडेल्धुरा, बैतडी, बझांगलगायतका जिल्ला समेटेर डोटी /डडेल्धुरामा अबिलम्ब मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

    २. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

    ३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast