बिहिवार, असोज २, २०७६
    आर्थिक खबर

    वाइडबडी खरिद प्रकरण : आखिर कहाँ चुके त पर्यटनमन्त्री रवीन्द्र अधिकारी ?

    वाइडबडी विमान खरिदको क्रममा भएको चार अर्ब ३५ करोड ५६ लाखको अनियमिततामा मन्त्री रवीन्द्र अधिकारी पनि मुछिए

    बुधबार, १८ पौष २०७५, आहाखबर

    काठमाडौँ, १८ पुस

    संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले अनुसन्धानबाट निकालेको वाइडबडी विमान खरिदको क्रममा भएको चार अर्ब ३५ करोड ५६ लाखको अनियमिततामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी पनि मुछिएका छन् । 

    बिमान खरिद गर्ने निर्णयमा वा किस्ता बुझाउने सवालमा आफ्नो संलग्नता नरहेको दाबी गर्ने अधिकारीलाई उपसमितिले कानुन सम्मत कारबाहीको माग गरेको छ। यसअघिका दुई वटा मन्त्रीलाई समेत कानुन सम्मत कारबाहीको माग गरिएको सवालमा रवीन्द्र अधिकारीको कमजोरी भने धेरै देखाइएको छ। 

    उपसमितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा अधिकारीले महालेखा परीक्षकको ५५ औँ प्रतिवेदनबाट विमान खरिद प्रकियामा कानुनसम्मत नदेखिएको स्पष्ट हुँदाहुँदै अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिएको उल्लेख गरिएको छ। 

    तर, मन्त्रीले भने यसअघि आफूले किस्ता रोक्न सक्ने भएपनि किस्ता पठाउने निर्णय नगरेको बताएका थिए। अनियमितता लुकाउने सवालमा पटक पटक आफ्नो कार्यकालमा भुक्तानी नभएको दाबी अधिकारीले लिँदै आएका थिए। 

    महालेखाको प्रतिवेदनको सुक्ष्म अध्ययन गर्न भन्दै कार्यादल बनाएर सत्यतथ्य बाहिर नलिएको, परामर्शको आधारमा किस्ता भुक्तानी दिएको भनेर झुट बोलेको, उपसमितिमा गलत विवरण दिएको लगायत विषयमा उनका कमजोरी उपसमितिले औल्याएको छ। 

    'रकम भुक्तानी गर्न मन्त्रीले बदनियतपूर्वक मिलेमतो गरेको देखिँदा जिम्मेवारीबाट पन्छिन नमिल्ने देखिएकाले प्रचलित कानुन अनुसार कारबाहीको सिफारिस गर्दछ' समितिको प्रतिवेदनमा भनिएको छ। 

    रवीन्द्र अधिकारी भन्दा पहिलेका दुई पर्यटन मन्त्री जीवनबहादुर शाही र जितेन्द्र् देवलाई नैतिक जिम्मेवारी लिनु पर्ने बताइए पनि अधिकारीलाई भने पन्छिन नमिल्ने उल्लेख गरिएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast