बुधबार, जेष्ठ २१, २०७७
    यातायात

    खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १ गम्भीर घाइते

    मृत्यु हुनेमा निर्मलीडाँडाका २१ वर्षीय माइकल राई, ३५ वर्षीय मीनप्रसाद लुइँटेल र दोर्पाचिउरीडाँडाका १९ वर्षीय खेमराज भुजेल छन्

    आईतवार, ८ पौष २०७५, आहाखबर

    खोटाङ, ८ पुस । 

    ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर आज बिहान करीब ३ बजेको समयमा दुर्घटना भएको हो ।

    मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २१ वर्षीय माइकल राई, ३५ वर्षीय मीनप्रसाद लुइँटेल र सोही नगरपालिका–७ दोर्पाचिउरीडाँडाका १९ वर्षीय खेमराज भुजेल रहेका छन् ।

    सोही ट्याक्टरमा सवार निर्मलीडाँडाकै २१ वर्षीय दुर्गाबहादुर लुइँटेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । अहिलेसम्म बेहोस अवस्थामा रहेका उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालीखोलामा ट्याक्टर दुर्घटना हुँदा चालक मीनप्रसाद र ट्याक्टरमा सवार माइकलको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    दुर्घटनामा गम्भीर घाइते सहचालक खेमराजको उपचारका क्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको प्रहरीले जनाएको छ । दिक्तेलबाट खाली फर्किएको ट्याक्टर सडकबाट करीब २०० मिटर तल खसेको जनाइएको छ । ट्याक्टर दुर्घटना हुनुको कारण अहिलेसम्म खुल्न सकेको छैन । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast