सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    आज नेवारसमुदायले योमरी पुन्ही मनाउँदै, किराँत समूदायमा उधौली पर्वको रौनक, प्रकृति र पितृको पूजा

    शनिबार, ७ पौष २०७५, आहाखबर
    काठमाडौँ, ७ पुस 
     
     
    आज नेवारसमुदायले योमरी पुन्ही हर्सोल्लासका साथ मनाउँदैछन् । तिहारमा देउसी–भैलो खेले जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवारी समुदायमा छ ।
     
    सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बालबालिकादेखि बुढापाकासम्म सहभागी भई आज दिनभर योमरी मागिन्छ । इष्टमित्र, साथीभाइ, पाहुनालाई बाँडीचुडी खाने र खुवाउने परम्परा रहेको यो पर्वलाई माया, प्रेम, दया र करुणा आदान–प्रदानको रूपमा पनि लिने गरिएको छ । त्यसैगरि आज धान्यपूर्णिमा पनि भनिन्छ ।
     
    विभिन्न धर्म र सम्प्रदायमा आज आ–आफ्ना दिवालीका साथै इष्टदेवको पूजा गर्ने गर्दछन् । पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
     
     
    किरात समूदायको ठुलो चाड उधौली पर्व मनाइदै
     
    प्रकृति र पितृको पूजा गरी आज किरात समूदायको ठुलो चाड उधौली पर्व मनाइदैछ । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रूपमा मनाउन गर्दछन् ।
     
    घरमा अन्न भित्र्याएको खुसीयालीमा प्रकृतिपूजक किरात राईले मंसिर शुक्ल पूर्णिमादेखि १५ दिनसम्म उधौली मनाउने गरेका छन् । बालीनाली राम्रो भएकोमा प्रकृतिलाई धन्यबाद दिन मनाइने यो पर्वमा किरात विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गर्ने गर्छन् ।
     
     
    सभामुख कृष्णबहादुर महराको शुभकामना
     
    सभामुख कृष्णबहादुर महराले किरात समुदायको महान पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त किरात समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 
     
    उधौली पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले यस पर्वले आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । 
     
    सन्देशमा उहाँले भन्नुभएको छ, “हाम्रो देश बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुजातीय समुदायले मिलेर बनेको संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक हो । हाम्रो संविधानले सबै भाषा, धर्म, वर्ग, जाति, समुदाय र संस्कृतिको समान अस्तित्वलाई स्वीकार गरेको छ । हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ । यहीँ विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ ।” सभामुख महराले उधौली पर्वले सामाजिक, साँस्कृतिक सद्भाव, आपसी सहयोग र राष्ट्रिय एकता मजबुत बनाउन सबैलाई प्रेरणा प्रदान गरोस् भनी शुभकामनासमेत व्यक्त गर्नुभएको छ । 
     
     
     
    उपराष्ट्रपति नन्दबहादुर पुनको शुभकामना
     
    उपराष्ट्रपति नन्दबहादुर पुनले किरात जातिको महान् पर्व उधौली तथा ज्यापू समुदायले मनाउने ज्यापु दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली किरात र ज्यापू दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । 
     
    उक्त अवसरमा आज शुभकामना दिँदै उहाँले सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै प्रगतिपथमा अघि बढ्न सबैलाई ऊर्जा एवम् उमङ्ग प्रदान गरोस् भनी कामना गर्नुभएको छ । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast