सोमबार, जेष्ठ १९, २०७७
    यातायात

    भूकम्पपछि पुनर्निर्माण गर्न आएको ऋण पूर्वपश्चिम रेलमा लगानी गर्न प्रस्ताव

    पुनर्निर्माण प्राधिकरणले भारतीय सर्त पूरा गर्न कठिन भएको भन्दै ऋण खर्च गर्न नसक्ने अवस्थामा पुगेको जानकारी गराइसकेको छ

    बिहिवार, ५ पौष २०७५, आहाखबर

    काठमाडौँ, ५ पुस

    भूकम्पपछिको पुनर्निर्माणमा खर्च गर्नेगरी भारतको एक्जिम बैंकले दिने भनिएको ऋण पूर्वपश्चिम रेलमा लगानी गर्न नेपालले प्रस्ताव गरेको छ।

    पुनर्निर्माण प्राधिकरणले भारतीय सर्त पूरा गर्न कठिन भएको भन्दै ऋण खर्च गर्न नसक्ने अवस्थामा पुगेको जानकारी गराइसकेको छ।

    प्राधिकरणले पुनर्निर्माणमा रकम खर्च गर्न कठिन हुने जानकारी गराएपछि अर्थ मन्त्रालयले भारतसँग उक्त ऋण पूर्वपश्चिम रेलमा लगानी गर्न प्रस्ताव गरेको हो।

    यस विषयमा भारतीय राजदूतदेखि अन्य अधिकारीसँग धेरै चरणमा छलफल भइसकेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

    पुनर्निर्माणमा सहायता जुटाउने उद्देश्यसहित सरकारले आयोजना गरेको दाता सम्मेलनमा भारतले १ खर्ब रूपैयाँ सहायता घोषणा गरेको थियो।

    त्यसमा एक्जिम बैंकबाट ७५ अर्ब सहुलियत ऋणलाई पनि गणना गरिएको थियो।

    २०७३ मा भएको ऋण सम्झौतामा परामर्शदाता, निर्माण सामग्री र ठेकेदार भारतीय हुनुपर्ने सर्त थिए। प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले तिनै सर्तका कारण रकम खर्च गर्न नसकिने अवस्थामा पुगेको बताएका छन्।

    पुनर्निर्माणमा खर्च हुन नसके पनि पूर्वाधारमा लगानी आवश्यक रहेको भन्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त ऋण अन्यत्र परिचालन गर्नेबारे छलफल गरिरहेका छन्।

    मन्त्रालयका एक उच्च अधिकारीका अनुसार धेरै चरणमा छलफल भए पनि भारतको रेल स्टयान्डर्डका कारण केही समस्या देखिएको छ।

    ‘लगानीका लागि भारतीय पक्ष सकारात्मक छ तर उनीहरूको ब्रोडगेज रेलका कारण समस्या छ,’ ती अधिकारीले भने।

    पूर्वपश्चिममा ९ सय ४५ किलोमिटर लामो विद्युतीय रेल बनाउन सरकारले विभिन्न प्याकेजमा विस्तृत अध्ययन गरिरहेको छ।

    १० वटा प्याकेजमा अध्ययन गरिरहेको सरकारले सोहीअनुसार लगानीका लागि दातृ निकायसँग छलफल अघि बढाएको छ।

    पहिलो चरणमा जापान, कोरिया र भारतसँग छलफल भइरहेको छ।

    अर्थले रेलका विभिन्न प्याकेज रहेको र त्यसमा जुन बनाउन सकिने हो त्यसमा लगानी गरिदिन प्रस्ताव गरेको हो।

    रेलमार्ग बनाउन जापान सकारात्मक छ भने कोरियाले ठूलो खण्डमा हात हाल्न नसक्ने प्रतिक्रिया दिएको छ। बाँकी खण्डमा लगानीका लागि अन्य दातृ नियकासँग पनि समानान्तर छलफल भइरहेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast