सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    ‘लावण्य देश’ को नामबाट चित्रित शङ्खरापुरमा धार्मिक पर्यटक वृद्धि हुँदै

    शालिनदी, साँखु, मणिचूड, बज्रयोगिनी, इन्द्रायणी सलम्बुदेवी, विश्वम्भरा नारायणजस्ता धार्मिक क्षेत्रका कारण यहाँ वर्षेनी धार्मिक पर्यटक वृद्धि हुँदै

    आईतवार, १ पौष २०७५, प्रकाश सिलवाल .

    काठमाडौँ, १ पुस

    श्रीस्वस्थानी कथामा ‘लावण्य देश’ को नामबाट चित्रित शङ्खरापुरमा पर्यटकीय विकासको सम्भावना बढ्दै गएको छ । काठमाडौँ जिल्लामै रहेर पनि ओझेलमा परेको यस क्षेत्रमा ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेका क्षेत्रका साथै जहरसिंह पौवा वनभोजस्थल, देउरालीमा सञ्चालित प्याराग्लाइडिङ र स्थानीय होटेल खुलेसँगै पर्यटकीय चहलपहल बढेको हो ।

    काठमाडौँको रत्नपार्कबाट १८ किलोमिटरको दूरीमा रहेको साँखुसम्म मोटरबाटोको स्तरोन्नति भएमा अन्तर्राष्ट्रिय पर्यटक बढाउन सहज हुने देखिएको छ । 

    शालिनदी, साँखु, मणिचूड, बज्रयोगिनी, इन्द्रायणी सलम्बुदेवी, विश्वम्भरा नारायणजस्ता धार्मिक क्षेत्रका कारण यहाँ वर्षेनी धार्मिक पर्यटक वृद्धि हुँदैछन् । ती क्षेत्रलाई थप विकास गर्दै प्राकृतिक पहाडी वन जङ्गल, मणिचुड, झुले देउराली, जहरसिंह पौवा र थाना भञ्ज्याङलाई पर्यटकीय र धार्मिक क्षेत्रका रूपमा विकसित गर्न शङ्खरापुर नगरपालिकाले बजेट विनियोजन गरेपछि थप पर्यटकीय विकास हुने सम्भावना देखिएको छ । 

    स्वयम्भू, बौद्ध, मणिचूड, बज्रयोगिनी र काभ्रेको नमोबुद्धसम्म बौद्ध परिपथका रूपमा विकास गर्न पनि नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन बनाउन थालेको छ । 

    विसं २०६८ को जनगणनानुसार २५ हजार ३३८ जनसङ्ख्या रहेको र ६० दशमलव २१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको तीन हजार तीन सय वर्ष अगाडि बनेको शङ्ख आकारको यो शहर मौलिक पाँच ढोकाका कारणले पनि परिचित छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लासँग जोडिएको शङ्खरापुर नगरपालिकाको वनभोजस्थल जहरसिंह पौवामा नगरपालिकाले हिमाल र सूर्याेदय अवलोकनका लागि हालै बनाएकोस्तम्भका कारण पनि यहाँ चहलपहल बढेको छ । थाना भञ्ज्याङ्गमा केबुलकार सञ्चालनको पनि पहल भएको छ । 

    कूल भूभागको ३६ प्रतिशत जङ्गल रहेको शङ्खरापुरमा जङ्गल सफारी, बङ्गुरपालन, हाइकिङ, साइक्लिङ, चामल र आलुको बजार विस्तार जस्ता काममा पनि नगरपालिकाले पहल गरेको छ । 

    नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले विनाशकारी भूकम्पमा थिलथिलो भएका सम्पदा र भवनको पुनःनिर्माण गर्दै पर्यटनलाई पहिलो प्राथमिकता दिएर नगरवासीलाई समृद्धि दिन आफूहरू लागिपरेको बताए । विसं २०७२ को भूकम्पमा यस नगरपालिकामा १०८ को मृत्यु भएको थियो भने छ हजार घर ध्वस्त भएका थिए । उनले मौलिकता झल्कने घरको पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिने अनुदानमा नगरपालिकाका तर्फबाट थप रु एक लाख दिने नीति लिइएको जानकारी दिए । 

    नगरपालिकाले चीनको ल्हासा नगरपालिका र अन्तर्राष्ट्रिय बौद्ध पर्यटन केन्द्रको सहयोगमा चाँपाबोट र चिहानडाँडामा स्रङचङगम्पो र भृकुटीको पार्क बनाउन पनि बजेट विनियोजन गरेको छ । नगर क्षेत्रभित्रको धार्मिक, सांस्कृतिक, पर्यावरणीय पर्यटनको सम्भाव्यता उजागर गर्न नगरस्तरीय एकीकृत पर्यटकीय गुरुयोजना तयार गरिने प्रमुख श्रेष्ठले बताए । 

    छिमेकी कागेश्वरी मनहरा र गोकर्णेश्वर नगरपालिका सम्मिलित अन्तरनगर समन्वय समितिको पहलमा तारेभिरदेखि जहरसिंहपौवा कात्तिकेसम्म साइक्लिङ र पदमार्ग निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेको छ । 

    शङ्खरापुर होटेल एशोसिएशनका अध्यक्ष सुमन थापाकाअनुसार हालसम्म सो क्षेत्रमा होटल व्यवसायका लागि रु एक अर्ब ६५ करोडको लगानी भइसकेको छ । यहाँका ३८ होटलमा गरी पाँच सय कोठाको क्षमता छ । चाँडै केही पाँच तारे होटल बन्ने तयारीमा छ । स्थानीय घरवास (होमस्टे) सञ्चालनका लागि पनि तयारी भइरहेको छ । 

    देउरालीस्थित शङ्खरापुर प्याराग्लाइडिङ प्रालिका सञ्चालक कुशल थापाले नियमित सञ्चालनका हिसाबले प्रदेश नं– ३ कै पहिलो प्याराग्लाइडिङ आफूले सञ्चालन गरेको र गतवर्ष तीन सय पर्यटकले मनोरञ्जन लिएको बताए । 

    शङ्खरापुर खेलकूद विकास समितिका अध्यक्ष बद्रीप्रसाद चौलागाईंले खेल, पर्यटन र विकासलाई जोडेर स्थानीय युवाको भावनाको साथ लिएर नगरको समृद्धिका वातावण बनाउन थालिएको जनाए । समितिले शनिबार प्रथम मेयर कप फुटबल प्रतियोगिताको समापन गरेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast