सोमबार, असोज ६, २०७६
    आर्थिक खबर

    नवलपरासीस्थित महेशपुर भन्सारमा अनलाइन सेवा, १०० थान राहदानीसहित दाङका राकेश थारू पक्राउ

    मंगलवार, २५ मंसिर २०७५, आहाखबर

    परासी, २५ मङ्सिर

    पश्चिम नवलपरासीस्थित महेशपुर भन्सारले अनलाइन विद्युतीय सेवा शुरु गरेको छ । सेवाग्राहीको सहजता र कामकारवाही पारदर्शी बनाउन विद्युतीय माध्यमबाट भन्सार महसुल बुझाउने प्रविधिको शुरुआत गरिएको हो । 

    वस्तु आयात–निर्यात गर्न भन्सारमा घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाबाट मुक्त गराई सेवाग्राहीले सुलभ तरिकाले भन्सार महसुल बुझाउन सक्ने गरी अनलाइन सेवा प्रारम्भ गरिएको भन्सार प्रमुख हेमचन्द्र शर्माले जानकरी दिनुभयो । सो सेवाबाट सामग्री आयात निर्यात गर्दा भन्सारमा लाग्ने कर, प्रज्ञापन फारम र राजश्व बुझाउने काम अबदेखि अनलाइनमार्फत घरबाटै गर्न सकिने शर्माले बताउनुभयो । 

    “प्रभू बैंकको काउण्टर सेवा पनि भन्सारमै सञ्चालनमा ल्याइएको छ,” उहाँले भन्नुभयो । सो सेवाको आज प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले महेशपुरका व्यवसायी शरिफ अलि अन्सारीलाई अनलाइन विद्युतीय प्रज्ञापन फारम प्रदान गरी शुभारम्भ गर्नुभयो । उक्त अवसरमा प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता, उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशव भण्डारीलगायतको उपस्थिति थियो । महेशपुर मूल भन्सारको असोज ७ गते अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गर्नुभएको थियो । सो भन्सारमा हाल १७ कर्मचारी कार्यरत छन् । 

     

    १०० थान राहदानीसहित एक जना पक्राउ

    काठमाडौँ, २५ मङ्सिर  :

    महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ । 

    वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग १०० थान राहदानी लिने दाङ घोराही–८ का २९ वर्षीय राकेश थारूलाई सोमबार राति पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको हो । 

    वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले विभिन्न देश पठाउने भनी गोङ्गबुको कोहलपुर गेस्ट हाउसमा १०० थान राहदानी लुकाएर राखेको अवस्थामा थारूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ थारूलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको वृत्तले जनाएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast