आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    विद्यार्थीमाथि बेइमानी : कक्षा ११ को नतिजाविरुद्ध गण्डकीका २७ सय विद्यार्थी आन्दोलनमा

    विद्यार्थीहरु आफूले लेखेको र प्राप्त गर्ने आत्मविश्वास गरेको ग्रेडभन्दा अनपेक्षित कम हुँदा भविष्य नै अन्धकारमा पर्ने चिन्ताले पिरोलेको भनाई

    आईतवार, २३ मंसिर २०७५, आहाखबर
    फाइल तस्वीर

    पोखरा, २३ मङ्सिर  

    कक्षा ११ को राष्ट्रिय परीक्षा बोर्डले लिएको विज्ञान विषयको नतिजामा गम्भीर लापरवाही भेटिएको छ । गण्डकी प्रदेशभरका विद्यार्थीको नतिजा बिग्रेर आएको भन्दै विद्यार्थी, अभिभावक र शिक्षण संस्था लगातार आन्दोलनमा छन् । 

    विद्यार्थीहरु आफूले लेखेको र प्राप्त गर्ने आत्मविश्वास गरेको ग्रेडभन्दा अनपेक्षित कम हुँदा भविष्य नै अन्धकारमा पर्ने चिन्ताले पिरोलेको बताउँछन् ।

    अपेक्षाकृता नतिजा नआएपछि बोर्ड लगायत सम्बन्धित निकायसँग छलफल गरी पुनर्योग गराउँदा झन् उल्टोपाल्टो नतिजा निस्किएको छ । विद्यार्थी, अभिभावक र प्लस टुहरु थप आन्दोलित भएका छन् । 

    मोहनराज तिवारीकी छोरी देशभरकै संस्थागत विद्यालयमा सर्वोत्कृष्ट भएको मदरल्यान्ड मावि मासबार पोखराकी होलसेकेन्ड हुन् । उनी भन्छन्, ‘मेरी छोरी छात्राहरुमा सर्वाष्ट र होलसेकेन्ड हुन्, तर ११ कक्षाको रिजल्ट सोच्दै नसोचेको आयो ।’ 

    जनप्रिय क्याम्पसले चलाइरहेको प्लसटुतर्फ १२ कक्षाका विद्यार्थी पवन गिरी अहिले १२ को किताब पढ्ने कि ११ को भन्ने दोधारमा छन् । ११ मा उत्कृष्ट नतिजाको अपेक्षा गरेका उनका भौतिक विज्ञान, रसायनशास्त्र र गणितजस्ता विषयमा सीमात्रै आयो । भन्छन्, ‘हामीलाई एप्लस वा ए चाहियो भन्ने होइन, जति लेखेका छौं, जस्तो लेखेका छौं, त्यसकै नम्बर चाहियो भनेका हौं ।’ 

    अर्का विद्यार्थी प्रकाश शर्मा पुनर्योग पनि चित्तबुझ्दो नभएकाले पुनःपरीक्षा दिन पाउनुपर्ने बताउँछन् । ‘राष्ट्रिय परीक्षा बोर्डले हाम्रो कुरालाई हाँसो ठट्टाको रुपमा मात्रै लिएको छ’, उनले भने । 

    ११ कक्षाको रसायनशास्त्र, भौतिकशास्त्र र गणित विषयको उत्तर लेखेअनुसारको अंक नआएको विद्यार्थीको गुनासो छ। असोज २० गते प्रकाशित नतिजासँग असन्तुष्ट भएपछि विद्यार्थी आन्दोलित थिए । पछि गण्डकी प्रदेशका २७३९ विद्यार्थीले रिटोटलिङ गराए । मंसिर १२ मा प्रकाशित रिटोटलिङ नतिजा पनि १३२ जनाको बाहेक कसैको पनि ग्रेड नबढेपछि आन्दोलन चर्किएको हो । 

    विद्यालय संयोजन समितिका संयोजक बाबुराम पन्तले कापी नै नजाँची नतिजा प्रकाशन गरिएको बताए । ‘हामीले विद्यार्थीको नतिजा रिटोटलिङ गर्न निवेदन दिएपछि हामी काठमाडौं गएर परीक्षा बोर्डका प्रतिनिधिसहितले हेर्दा कापी नै जाँचिएको रहेनछ,’ उच्च माध्यामिक विद्यालय संघ (हिसान) कास्कीका पूर्व अध्यक्ष पन्तले भने, ‘परीक्षा बोर्डदेखि सबैलाई गल्ती भएको अवगत भएपछि छानबिन समिति बनाउने भनियो, बनाइयो पनि तर छानबिन प्रतिवेदन सार्वजनिक गरिएन र झन् दुखद नतिजा सार्वजनिक गरियो ।’

    सबै विद्यार्थीको अंक डी र ई ग्रेडमात्र आउने कुरा हुनै नसक्ने उनको भनाइ छ । कलेजकै टप विद्यार्थीको पनि डी र ई ग्रेड आएको भन्दै संयोजक पन्तले बोर्डको चरम लापरबाहीका कारण विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताए ।

    ‘कलेजका टप विद्यार्थी जो ए ग्रेड आउने आत्मविश्वासमा बसेको छ, उसको डी ग्रेड आएको छ । फिजिक्समा बी ग्रेड ल्याउने पनि कोही छैनन्, सबै विद्यार्थीको एकै नतिजा कसरी आउँछ,’ पन्तले भने, ‘न्युनतम सी प्लस पनि नल्याई कसरी हाम्रा विद्यार्थीले राम्रा विश्वविद्यालयमा पढ्न पाउँछन् ?’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast