आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    फोरम–राजपा एकता : उपेन्द्रले सरकार छाड्नुपर्ने सर्त, के होला अब सरकारी समिकरण ?

    राजपा नेपालका संयोजक राजेन्द्र महतोद्वारा फोरम नेपाल सरकारमा रहेसम्म वार्ता हुन नसक्ने प्रतिकृया

    आईतवार, २३ मंसिर २०७५, आहाखबर

    काठमाडौँ, २३ मङ्सिर

    उपेन्द्र नेतृत्व संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल लगायत मुद्दा र विचार मिल्ने अन्य दलसँग एकीकरणका लागि वार्ता समिति गठन गरेको छ । यसको  स्वागत गरेको छ । 

    राजपा नेपालले समितिको स्वागत गरेपनि वार्ताका लागि फोरम सरकारबाट फिर्ता हुनुपर्ने सर्त अघि सारेको छ ।  राजपा नेपालका संयोजक राजेन्द्र महतोले फोरम नेपाल सरकारमा रहेसम्म वार्ता हुन नसक्ने प्रतिकृया दिएका छन् । 

    उनले भने, ‘फोरम नेपालले वार्ताका लागि समिति गठन गर्नु स्वागतयोग्य हो तर फोरम नेपाल सरकारमा रहुन्जेल न वार्ता हुन्छ न एकीकरण हुन्छ, पार्टी एकीकरणका लागि फोरम नेपालले पहिला सरकार छाड्नुपर्छ अनि वार्ता प्रकृया अगाडि बढ्छ ।’

    महतोले फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसँगको भेटमा समेत स्पष्ट रुपमा यो सर्त राखेका छन् । पार्टी एकीकरणकै विषयमा दुई नेताबीच केही दिन पहिले भएको वार्तामा संयोजक महतोले यस्तो सर्त अघि सारेको राजपा स्रोतले जनाएको छ । 

    जवाफमा अध्यक्ष यादवले तत्काल सरकारबाट फिर्ता हुने विषयमा पार्टीले नसोचेको जवाफ दिएका थिए । 

    ‘सरकारले मधेशको पक्षमा काम गरेन भने त्यहाँ बसिरहने छैनौँ, अवश्य फर्किन्छौं बरु तपाईँहरु पनि सरकारमा आउनुस्,’ मन्त्री यादवले संयोजक महतोलाई भनेका थिए, ‘तपाईँहरु पनि सरकारमा भएपछि अली दवाव बढ्छ, आउनुस् सरकारमा ।’

    तर यादवको प्रस्तावलाई अस्वीकार गर्दै महतोले फोरमनै सरकारबाट फिर्ता हुनुपर्ने सर्त अघि सारेका हुन् । 

    फोरमको शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले  सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो । वार्ता समितिको सदस्यमा राजनीतिक समितिका सदस्यमा पार्टीका उपाध्यक्ष रकम चेम्जोङ, महसचिव रामसहाय यादव, उपमहासचिव प्रकाश अधिकारी, सचिव मोहम्मद इस्तियाक राइन, राजनीतिक समिति सदस्य महेन्द्र थापामगर रहेका छन् । 

    केन्द्रीय समितिबाट सो निर्णयलाई आधिकारिकता दिइएपछि समितिले वार्ता र छलफललाई तीब्रता दिने बताइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast