आईतवार, असोज ५, २०७६
    कृषि-उर्जा

    गभारो लागेपछि ‘सुन्तालाको जोन’ प्रभावित, कहाँ–कहाँ छ, सुन्तलाको जोन, उत्पादनमा भारी गिरावट

    गत वर्ष रु आठ करोड बराबरको सुन्तला उत्पादन भएको जाजरकोटमा यो वर्ष त्यसको आधा पनि उत्पादन सकेको जानकारी

    आईतवार, २३ मंसिर २०७५, –हेमन्त केसी.
    फाइल तस्वीर

    जाजरकोट, २३ मङ्सिर 

    गभारो र ढुसी रोग लागेका कारण जाजरकोटमा यो वर्ष सुन्तला उत्पादनमा गिरावट भएको छ । सरकारले ‘जोन घोषणा’ गरेको जाजरकोटमा सुन्तला उत्पादन घटेपछि किसान चिन्तित छन् । 

    रोगका कारण सुन्तालका बोट सुक्ने र दानाहरु कालो हुन थालेपछि उत्पादन कमी आएको हो । गत वर्ष रु आठ करोड बराबरको सुन्तला उत्पादन भएको जाजरकोटमा यो वर्ष त्यसको आधा पनि उत्पादन सकेको किसान बताउँछन् । बारीमा लगाएका सुन्तलाका बोटहरु फल टिप्ने बेला सुक्न थालेपछि स्थानीय किसान लगानी डुब्ने चिन्तामा छन् । 

    कहाँ–कहाँ छ, सुन्तलाको जोन 

    सरकारले सुन्तलाका लागि सम्भावना भएको जाजरकोटका तीन स्थानीत तहमा ‘सुन्तला जोन’ स्थापना गरेको थियो । कुशे गाउँपालिकाको दम्दाला, भेरी नगरपालिकाको वडा नं २ र नलगाड नगरपालिकाको वडा नं ३ लाई समेटेर अघेल्लो वर्षको माघमा जोन क्षेत्र घोषणा गरी काम शुरु गरिएको थियो । 

    गत वर्ष रु १० लाखको सुन्तला बेचेका कुसे गाउँपालिका वडा नं ५ दमदालाका किसान शक्तिबहादुर वलीले यस वर्ष आधा उत्पादन घटेको बताए । एक्लै ३५ रोपनी जग्गामा सुन्तला खेती गरेका वलीले गत वर्षको तुलनामा यस वर्ष आधा सुन्तला उत्पादन घटेको बताए । 

    उनले सुन्तलाका बोट सुक्ने, पात सुक्ने र दाना पनि कालो भएर कुहिने समस्याका कारण यो वर्ष बोटमा सुन्तला निकै कम फलेको जानकारी दिनुभयो । वलीजस्तै अर्का किसान चन्द्रबहादुर मल्ल पनि सुन्तलाको बोटमा ढुसी रोगले सुन्तलाका दाना कालो हुने, डाँठ सुक्ने, पात पहेंलो हुने र पछि पुरै बोट सुक्ने कारण आफूहरु ठूलो मर्कामा परेको र सरकारले केही सहयोग नगरेको गुनासो गरे । 

    उनले सरकारले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत घोषणा गरिएको ‘सुन्तला जोन’ कार्यक्रमले जाजरकोटका उत्पादक किसानलाई राहत दिन नसकेको बताए । किसानका समस्या समाधान गर्ने, नियमित रूपमा बारीको प्राविधिक रूपले रेखदेख गर्ने तथा सुन्तलाका बोटको सुरक्षाका लागि किसानलाई सल्लाह सुझाव दिन कर्मचारीले नसकेका कारण यस वर्ष सुन्तला जोन घोषणा गरिएको जिल्लामा उत्पादन निकै घटेको कुसे–५ का स्थानीयवासी शिक्षक डिल्लीबहादुर थापाले बताए । 

    परियोजना कार्यान्वयन एकाइ सुस्त 

    सुन्तालाका बिरुवा रोगका कारण समस्य आए पनि ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ कार्यान्वयन एकाइ कार्यालयले कुनै पनि सहयोग नगरेको किसानको गुनासो छ । कार्यालयका प्रमुखदेखि कर्मचारी फिल्डमा नजाने र पाँकटियास्थित जोनको कार्यालय सहयोगीको भरमा खुल्ने गरेकाले किसानले कुनै सुविधा पाउन नसकेको शिक्षक थापाको आरोप छ । 

    जोन प्रमुख टङ्क रिजालले किसानले सुन्तलाको बोट लगाउन नजानेका कारण बोट सुक्ने समस्या देखिएको छ, सुन्तलाका बोटहरु लगाउँदा ठूलो खाडल नबनाएका कारण सुन्तलाका जराहरु ढुङ्गा या चट्टानमा ठोक्किने भएकाले अहिले बोटमा पात सुक्ने, डाँठ सुक्ने र फल कालो हुने समस्या देखिएको बताए । 

    उनले अहिले जाजरकोटमा ५४ हजार सुन्तलाका बोट लगाइएको बताए । अहिले जिल्लाको १८० हेक्टर जमीनमा सुन्तला खेती भइरहेको र यसलाई बढाएर ५०० हेक्टर बनाउन आफूहरुले काम गरिरहेको प्रमुख रिजालको दाबी छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast