सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    ‘बिन्दास’ कर्मचारी : सचिव र ज्वाइँद्वारा सरकारी गाडी दुरुपयोग, फुटबल खेल्दा खुट्टा भाँच्चियो

    कतिपयले स्कुटर र कार पनि सिकेका छन्, त्यो पनि सरकारी नै, प्रदेशसभा सचिवालयको बा १ झ नम्बर ९६५९ नम्बरको स्यान्ट्रो कार कुच्चिएको छ

    मंगलवार, १८ मंसिर २०७५, आहाखबर

    पोखरा १७ मंसिर । 

    असोज ८ गते वर्षे अधिवेशन सकिएपछि गण्डकी प्रदेश सभाका सांसदहरु फुर्सदिला छन् । सुनसान संसदका कर्मचारी पनि फुर्सदमा छन् ।

    हिँउदे अधिवेशन कहिले सुरु गर्ने ? सरकार अलमलमा छ ।

    यही मौका छोपेर प्रदेश सभा सचिवालयको गाडी दुरुपयोग भएको छ । सोमबार त्यहाँ पुग्दा बा१झ ९६५९ नम्बरको स्यान्ट्रो कार कुच्चिएको देखियो ।

    कामकाजमा व्यस्त हुन नपरेपछि कर्मचारीको काम घाम ताप्नेमा सीमित भएको छ । सचिवालयको हाताभित्रै केही दिन उनीहरुले फुटबल खेलेर पनि कार्यालय समय कटाए । फुटबल खेल्दा २ कर्मचारीको खुट्टै भाँचिएपछि समय काट्ने त्यो उपाय पनि आइतबारदेखि स्थगित भएको छ ।

    कम्प्युटर अधिकृत लेखनाथ भण्डारीको आइतबार खुट्टा भाँचिएको हो । कात्तिक २७ गते खुट्टा भाँचिएपछि कानुन अधिकृत श्रीतिवारी अझैं आरामै गरिरहेका छन् । कार्यालय समय बिताउन कर्मचारीले फुटबल खेल्ने उपायमात्रै गरेनन्। कतिपयले स्कुटर र कार पनि सिकेका छन्, त्यो पनि सरकारी नै । प्रदेशसभा सचिवालयको बा १ झ नम्बर ९६५९ नम्बरको स्यान्ट्रो कार कुच्चिएको छ ।

    सभामुख नेत्रनाथ अधिकारीका स्वकीय सचिव लोकनाथ आचार्यले आइतबार सभाको परिसरमै कार चलाउन सिक्दा बारमा ठोक्‍काएका थिए । 'धन्न ठूलो दुर्घटना टर‍्‍‍यो, एक कर्मचारीले भने, 'कारमा नेकपाका एकजना सांसद पनि हुनुहुन्थ्यो । उनलाई पनि केही भइहालेको भए साह्रै नराम्रो सन्देश जान्थ्यो ।'
     
    ती कर्मचारीकै भनाइमा कार नगर विकास प्रशिक्षण केन्द्रको आवास भवनपट्टि ठोक्‍किन गएको थियो । आचार्यले आइतबारमात्रै कार सिकेका होइनन् । केही दिनअघिदेखि सभामुखका छोरीज्वाइँ र उनले आलोपालो कार सिकिरहेका थिए । एक कर्मचारी भन्छन्, 'अफिस समयमा गर्न नपर्ने काम गरेपछि कोहीको खुट्टा भाँच्चियो, कोहीले कार ठोक्याए ।'

    संसद सचिवालयमा दर्ता भएको सहकारी विधेयकमाथि विधायन समितिले छलफल गर्‍यो भने प्रदेश मामिला समितिको पनि एउटा बैठक बस्यो । विकास र पूर्वाधार निर्माणको कामले गति नलिँदा अर्थ तथा विकास समिति चाही फुर्सदिलो रहेको सभापति दीपक कोइराला बताउँछन् ।

    त्यस्तै, प्रदेशको बजेट कार्यान्वयन नै नभएकाले सार्वजनिक लेखा समिति जिम्मेवारी बहन गर्ने चरणमै नपुगेको सभापति कुमार खड्काले बताए ।

    प्रदेशका कानूनमन्त्री हरिबहादुर चुमान २० वटा जति विधेयक पुगेपछि संसद सुरु गर्ने बताउँछन् । उनका अनुसार, एक दर्जन विधेयक ल्याउन मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिइसकेको छ । तर, विधायन समितिमा पहिल्यै पुगेकाबाहेक अहिलेसम्म संसद सचिवालयमा अरु विधेयक दर्ता भएको छैन । विधायन समितिमा बर्खे अधिवेशन स्थगित हुनुअगाडि कै सहकारी, सचिवालय व्यवस्थापन र वरपीपल संरक्षण सम्बन्धी ३ विधेयक छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast