सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    प्रदेश ३ को राजधानी मतदानबाटै टुङ्गो लगाइने, मङ्सिर भित्रै प्रदेश १ को सरकार विस्तार

    मंगलवार, १८ मंसिर २०७५, आहाखबर

    हेटौँडा, १८ मङ्सिर :

    प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ ।

    सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो । 

    प्रदेशसभामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई तिहाइ छ । तर हेटौँडालाई स्थायी राजधानी बनाउन नेकपाकै अधिकांश सांसदहरु विपक्षमा छन् । 

    उपसभामुख राधिका तामाङले सहमतिमै राजधानीको विषय टुङ्ग्याउन प्रयास गरिने बताउनुभयो । “सहमतिबाटै टुङ्ग्याउँदा पनि संसदीय प्रक्रियामा जानैप¥यो”, उहाँले भन्नुभयो, “यदि सहमति हुन नसके मतदानबाटै टुङ्गो लगाउनुपर्छ, प्रदेशसभाको आगामी बैठकमा राजधानीको विषयले प्रवेश पाउँछ ।” 

    यद्यपि बैठकको मिति भने टुङ्गो लागेको छैन् । मङ्सिर २७ गतेअघि सम्भव नभए पुस ७ गतेपछि बैठक बोलाउने तयारी छ । उपसभामुख तामाङका अनुसार यस अवधिमा काङ्गे्रस महासमिति बैठक र नेवारी समुदायको चाड परेकाले बैठक बस्ने सम्भावना न्यून छ ।

    प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले मकवानपुरको हेटौँडासहित, काभ्रे, भक्तपुर, नुवाकोट र चितवनलाई विकल्पका रुपमा छनोट गरिसकेको छ । प्रदेशसभामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई तिहाइ छ । तर हेटौँडालाई स्थायी राजधानी बनाउन नेकपाकै अधिकांश सांसदहरु विपक्षमा छन् । 

     

    मङ्सिर महीनाभित्र प्रदेश सरकार विस्तार हुने

     प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यही मङ्सिर महीनाभित्रै प्रदेश सरकार विस्तार हुने बताउनुभएको छ । 

    विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कामको चापको हिसाबले प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिने प्रस्ट पार्नुभयो ।

    मुख्यमन्त्री राईले धेरै विभागसँगै राखेर मन्त्रालय चलाउन अप्ठ्यारो भएको हुनाले मन्त्रालय विभाजन गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

    मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको विषय माथिल्लो तहमा टुङ्गो लागिसकेको जानकारी दिँदै आगामी हिउँदे अधिवेशनमा यस विषयको टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेशको हिउँदे अधिवेशन आगामी पुसको पहिलो हप्ता बस्ने र त्योभन्दा अगाडि संसदीय दलको बैठक बसी सहमतिका आधारमा नाम र स्थायी राजधानीको विषय टुङ्ग्याउने बताउनुभयो । 

    एक प्रश्नको जवाफमा मुख्यमन्त्री राईले मन्त्रिपरिषद्मा सङ्घीय समाजवादी फोरमलाई पनि ल्याउने विषयमा टुङ्गो नलागेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तारमा महिलाको प्रतिनिधित्व गराइनेसमेत जानकारी दिनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast