शनिबार, जेष्ठ २४, २०७७
    स्कुल-कलेज

    प्रदेश नं ५ - आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा एउटै पाठ्यक्रम र पोशाक

    निजी विद्यालयले आफूखुसी राख्ने पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई नियन्त्रण गर्न पनि यस्तो अवधारणा ल्याइएको भनाई

    सोमबार, १७ मंसिर २०७५, आहाखबर
    फाइल तस्वीर

    बुटवल, १७ मंसिर

    निजी र सामुदायिक विद्यालयबीचको अन्तर घटाउन, एकरूपता ल्याउन एवं एकै खालको शिक्षा प्रदान गर्न भन्दै विद्यालयमा एउटै पाठ्यक्रम र पोसाकको तयारी गरेको हो ।  प्रदेश सरकारले यहाँका सबै विद्यालयमा एकै किसिमको पाठ्यक्रम र पोसाक लागू गर्ने तयारी गरेको छ । 

    सामाजिक विकास मन्त्री सुदर्शन बरालले निजी विद्यालयले आफूखुसी राख्ने पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई नियन्त्रण गर्न पनि यस्तो अवधारणा ल्याइएको बताए। मन्त्रालयले विद्यालयको पाठ्यक्रम मात्र नभई पाठ्यपुस्तकसमेत एउटै बनाउने योजना बनाएको छ। 

    अहिले मावि तहको शिक्षाको व्यवस्थापन, गुणस्तर मापन र पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण र लागू गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ। यो अधिकार उपयोग गर्दै सामाजिक विकास मन्त्रालयको शिक्षा निर्देशनालयले प्रारम्भिक काम थालेको छ। 

    ‘एकै किसिमको शिक्षाले अभिभावकको निजीतर्फको बढ्दो आकर्षण र सामुदायिक विद्यालयप्रतिको विकर्षण घट्नेछ,’ मन्त्री बरालले भने, ‘सँगसँगै शिक्षामा व्यापारीकरण पनि कम हुनेछ।’ पाठ्यपुस्तकमा अध्यापनको भाषा भने विद्यालयले नै निर्धारण गर्ने उनले बताए ।

    स्थानीय तह, विद्यालयका प्रधानाध्यापक र अभिभावकसितको छलफलपछि निर्देशनालयले पाठ्यक्रम बनाउन विज्ञ समूह बनाउनेछ। उक्त समूहको सुझावमा पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गरेर लागू गर्ने योजना मन्त्रालयको छ।

    मन्त्री बरालले विद्यालयपिच्छे फरक–फरक पोसाक हुँदा कतिपय विद्यालयले तिनै पोसाकबाट पनि चर्को कमिसन खाएको गुनासो आएकाले आगामी शैक्षिक सत्रदेखि एउटै पोसाक बनाउने तयारी गरेको बताए। ‘यसले अभिभावकलाई विद्यालय फेर्नासाथ नयाँ पोसाक किनिदिनुपर्ने झन्झट हट्नेछ,’ उनले थपे, ‘पोसाक एउटै बनाउँदा कमिसनको चक्करसमेत हटनेछ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast