सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    निर्मला हत्या प्रकरण : सरकार बिरुद्ध ‘अरिङ्गाल’ झैँ खनिए जनता, न्याय माग्दै सडकमै ‘पल्टिए’ महिला

    नेपाल महिला संघको अगुवाईमा सदरमुकामस्थित बाघचोकमा भेला भएका झण्डै दुई सय महिला सडकमै सुते

    आईतवार, १६ मंसिर २०७५, आहाखबर

    बागलुङ, १६ मंसिर 

    १३ वर्षीय किशोरी निर्मला पन्त । जसको बलात्कार गरियो र बलात्कारपछि घाँटी थिचेर निर्मम हत्या गरियो ।

    निर्मला पन्तको बलात्कारपछि गरिएको हत्यामा न्याय खोज्दै यहाँका महिलाहरु सडकमै सुतेका छन् । नेपाल महिला संघको अगुवाईमा सदरमुकामस्थित बाघचोकमा भेला भएका झण्डै दुई सय महिला सडकमै सुतेका हुन् ।

    ‘एउटी अबोध बालिकाले न्याय नपाएपछि दवावस्वरुप सडकमै सुतेका हौं’ संघकी अध्यक्ष शकुन्तला शर्माले भनिन्, ‘दैनिक भइरहेका बलात्कारका दोषीलाई राज्य संयन्त्रले संस्थागत रुपमै उम्काउने प्रयास गरिरहेको छ ।’ यस्ता घटनामा राज्य संयन्त्र चुप लाग्नुले दुई तिहाई मतको सरकारको बेइज्जत भएको उनको टिप्पणी थियो ।

    सबै महिलाले टाउकोमा कालोपट्टीसमेत बाँधेर विरोध गरेका थिए । ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने नारा लेखिएको व्यानर र पोस्टर लिएर उनीहरुले दोषीलाई पक्राउ गर्न माग गरेका थिए।

    सडकमै सुत्ने कार्यक्रममा ७० वर्षीयादेखि १५ वर्षीया किशोरीहरु पुगेका थिए। उनीहरुको मागको समर्थनमा कांग्रेससहितका अन्य राजनीतिक दलका नेता, नेपाल ट्रेड युनियन कांग्रेसका पदाधिकारी, कार्यकर्ता, अधिकारकर्मी तथा नेविसंघका कार्यकर्ता सहभागी थिए । उनीहरुको विरोधले सडकको आवागमन अवरुद्ध भएको थियो ।

    प्रहरीले च्यात्न थालेपछि निर्मलाको पोस्टर अब ज्याकेट, ब्याग र बाइकमा

    निर्मला पन्तको तस्वीर अंकित पोस्टरहरु प्रहरीले च्यातेर फाल्न थालेपछि स्वतन्त्र युवाहरुको समूहले आफूले लगाउने ज्याकेट र ब्यागहरुमा स्टिकर टाँस्न थालेको छ ।

    सो समूहले सवारीसाधन, ज्याकेट, क्याप र झोलामा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर टाँस्ने अभियान सुरू गरेको हो । यसो गर्दा प्रहरीले च्यातेर फाल्न नसक्ने उनीहरुको ठहर छ ।

    स्वतन्त्र युवाहरुको समूहले अहिले यही अभियान चलाइरहेको छ र अरुलाई पनि यस्ता पोस्टर लगाएर न्यायको लडाइँमा साथ दिन आह्वान गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast