सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    अमालकोट कचहरीका द्वारेले सिन्दूर चढाएपछि श्री चन्द्रविनायक तथा भैरवनाथ जात्रा सम्पन्न

    मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् आइतबार दुबै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराइयो

    मंगलवार, ११ मंसिर २०७५, आहाखबर

    काठमाडौँ, ११ मङ्सिर

    श्री चन्द्रविनायक तथा भैरवनाथ जात्रा मार्ग शीर्ष कृष्ण तृतीयाका दिन अमालकोट कचहरीका द्वारेले सिन्दूर चढाएपछि सम्पन्न भयो । 

    कार्तिक शुक्ल पूर्णिमाका दिन शुरु भएको जात्रा आज श्री चन्द्रविनायक र भैरवनाथलाई अबीर चढाएपछि सकिएको हो । जात्रा करीब साढे तीन सय वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको शुरुआत गराएको स्थानीयवासीको भनाइ छ । जात्रा सफलतापूर्वक समापन भएको खुशीयालीमा आज दिनभर चाबहिल क्षेत्रमा सिन्दूर जात्रा गरिन्छ । 

    जात्रा कार्तिक शुक्ल पूर्णिमाका दिन गत शुक्रबारदेखि चाबहिल क्षेत्रमा शुरु भएको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ । 

    जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ । पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले शुक्रबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा शुरु भएको हो । पूर्णिमाका दिन बेलुकी शुक्रबार मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ । 

    यसैगरी मार्ग शीर्ष कृष्ण प्रतिपदाका दिन श्री चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाइँ गङ्गाहिटीमा लगेर स्नान गराउने विधि छ । स्नानपछि दुबै खटलाई शनिबार बेलुकी चारुमती बिहारमा लगेर बिसाइएको थियो । मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् आइतबार दुबै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराइयो । दर्शनपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकमा घुमाइएको जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast