सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    मिथिलाञ्चलको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न

    मङ्गलबार षष्ठी तिथिका दिन साँझ ब्रतालुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए

    बुधबार, २८ कार्तिक २०७५, आहाखबर

    बर्दिवास, २८ कात्तिक 

    महोत्तरीसहितको मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको छ । 

    सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना विधि सम्पन्न गर्दै निराहार ब्रत थालेका ब्रतालुले बुधबार उदाउँदो सूर्यलाई दोश्रो अघ्र्य दिँदै छठ सम्पन्न गरेका हुन् । सप्तमीका दिन बिहान सूर्यलाई दिइने अघ्र्यलाई मिथिलाञ्चलमा ‘भोरका अरख’ भन्ने गरिन्छ । 

    मङ्गलबार षष्ठी तिथिका दिन साँझ ब्रतालुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए । साँझको सूर्यलाई दिइने अघ्र्यलाई मिथिलाञ्चलमा ‘सझुका अरख’ भनिन्छ । सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर निराहार ब्रत थालेका ब्रतालुको उपवासको समय आज बिहान सूर्योदय हुँदासम्म झण्डै ३६ घण्टा भएको छ । आइतबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय खाय’ विधिबाट ब्रत सङ्कल्प गरेका ब्रतालुले आज चौथो दिन छठ सम्पन्न गरेका हुन् । छठ सम्पन्न भएसँगै ब्रतालु परिवारजनसँगै पानीघाटबाट घर फर्केपछि प्रसाद खाने ख्वाउने क्रम शुरु भएको छ । 

    छठको प्रसाद बनाएर सूर्यलाई देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार खाने ख्वाउने क्रम भने मिथिलाञ्चलमा लामो समयसम्म जारी रहन्छ । मिथिलाञ्चलमा छठ सकिएपछि विवाहित चेलीबेटी, कुटुम्ब परिवार, मितमितिनी र अन्य इष्टमित्रको घरमा छठको कोशेली पठाउने चलन छ । यसरी पठाइने कोशेलीमा सूर्यदेवलाई देखाइएको प्रसाद मिसाएर पठाइने क्रम महीना दिनभर चलिरहन्छ । सूर्यदेव र षष्ठीदेवीको श्रद्धा र निष्ठापूर्वक उपासना गरिने छठ मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिन्छ । लोकआस्थाको छठ पर्व आपसी सद्भावको प्रतीक मानिन्छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast