सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    प्रदेश नं ३ को ठूलै सकसः नाम र राजधानी तोक्ने जिम्मा ओली-प्रचण्डलाई !

    स्रोतका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश राजधानी काभ्रेपलान्चोक वा भक्तपुर कायम गर्न चाहन्छन्

    आईतवार, २५ कार्तिक २०७५, आहाखबर

    काठमाडौं, २५ कात्तिक । 

    प्रदेश ३ को राजधानी र नाम टुंगो लगाएर मात्र प्रदेशसभा बैठक बोलाउने तयारी सरकारको छ ।

    स्रोत साधन र प्रतिनिधित्वको हिसावले सबैभन्दा ठूलो प्रदेशको नाम र राजधानी तोक्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई संकट परेको छ ।

    सत्तारुढ नेकपाको दुई तिहाई बहुमत रहेको प्रदेशसभामा राजधानीका लागि सम्भावित पाँच जिल्लाको नाम प्रस्ताव गरिएको छ । प्रदेशको नाम भने प्रस्तुत भएको छैन ।

    देशको राजधानी समेत रहेको यो प्रदेशको नाम र राजधानीको टुंगो नेकपाको शीर्ष नेतृत्वबाटै लगाइने स्रोतले जनाएको छ । स्रोतका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश राजधानी काभ्रेपलान्चोक वा भक्तपुर कायम गर्न चाहन्छन् ।

    तर, अर्का अध्यक्ष प्रचण्ड चितवनबाट निर्वाचित भएकाले त्यहाँको मनोविज्ञानमा छन् । उनले अहिलेको हेटौंडालाई नै कायम गर्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ तर, नेकपाका बहुसंख्यक प्रदेशसभा सदस्यहरु हेटौंडाको विपक्षमा छन् ।

    तिहारअघि नेकपाका प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, सहइञ्चार्ज हितबहादुर तामाङ, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलले दुवै अध्यक्षलाई सामूहिक रुपमा भेटेका थिए । ईञ्चार्ज तथा प्रदेशसभा सदस्य शाक्यले राजधानी काभ्रे कायम गर्नुपर्ने धारणा राख्दा ओली मौन बसेको एक सहभागीले बताए ।
    प्रदेश ३ को ११० सदस्यीय प्रदेशसभामा काठमाडौं उपत्यकाबाट निर्वाचित सदस्यहरुनै लगभग बहुमतमा छन् ।

    प्रत्यक्ष निर्वाचित ६६ मध्ये ३३ जना उपत्यकाबाट निर्वाचित छन् । समानुपातिक समेत जोड्दा उनीहरुको बाहुल्य छ । त्यसबाहेक सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट र धादिङको मत पनि हेटौंडा हुनु हुँदैन भन्नेछ ।

    प्रदेशसभामा सम्भावित राजधानीका लागि काभ्रे, भक्तपुर, नुवाकोट, हेटौंडा र चितवनको नाम प्रस्ताव गरिएको छ । तर अहिले नेकपाभित्र हेटौंडा कि काभ्रे भन्ने बहस छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast