सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दको १३४औँ जन्मजयन्ती, प्रधनमन्त्रीको शुभकामना सन्देश !

    फाल्गुनन्दको अभियान आज पर्यन्त स्मरणीय, आफू जन्मेहुर्केको समाजमा भएका बेथिति देखेपछि त्यसलाई सुधार गर्नेतर्फ फाल्गुनन्दको निरन्तर प्रयासको प्रधानमन्त्रीबाट प्रशंसा

    आईतवार, २५ कार्तिक २०७५, आहाखबर

    काठमाडौँ, २५ कात्तिक :

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गर्नुभएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताउनुभएको छ । 

    फाल्गुनन्दको १३४औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उहाँले समाज सुधारको लागि जारी गरेको घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभएको हो । 

    शुभकामना सन्देशमा भनिएको छ, “फाल्गुनन्दले विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट जारी गरेको समाज सुधारको सात बुँदे घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक छ । मलाई लाग्छ त्यो घोषणापत्रले हाम्रो समाज सुधारका लागि ठूलो योगदान ग¥यो ।” 

    फाल्गुनन्दले समाज सुधारका लागि दिनुभएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आफू जन्मेहुर्केको समाजमा भएका बेथिति देखेपछि त्यसलाई सुधार गर्नेतर्फ फाल्गुनन्दको निरन्तर प्रयासको प्रशंसा गर्नुभएको छ । 

    फाल्गुनन्दले अहिंसात्मक अभियानसमेत सञ्चालन गर्नुभएको जसले समाजमा शान्ति कामय गर्न महत्वपूर्ण योगदान गरेको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । यसैगरी किराँत धर्म, साहित्य आदिको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभएको छ । 

    समाज सुधारक फाल्गुनन्दको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूतिको घोषणा गरेको थियो । खासगरी किराँत धर्मवालम्बीहरुले फाल्गुनन्दलाई प्रेरक व्यक्तित्वको रुपमा समेत सम्मान गर्ने गर्छन् । 

     

    फाल्गुनन्द जयन्तीमा बिदा

    इलामका तीन स्थानीय तहले महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । यहाँका फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । गाउँ कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरिएको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

    महागुरु फाल्गुनन्दलाई सरकारले विसं २०६६ मा १६औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो । विसं १९४२ कात्तिक २५ गते इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाको चुक्चिनाम्बामा जन्मनुभएका महागुरुको जन्मजयन्तीका अवसरमा रुपाटारस्थित किराँत मन्दिरमा किराँत धर्मावलम्बीले पूजाआजा गर्दै आएका छन् । किराँत धर्मका महागुरु तथा समाज सुधारक फाल्गुनन्दको बसोवास रहेको स्थल माङसेबुङ गाउँपालिकाको लारुम्वामा किराँत धर्मानुरागीहरूले पूजापाठ गर्ने गरेका छन् । 

     

    सिद्धिथुम्का महोत्सव शुरू 

    इलामको देउमाई नगरपालिका–७ स्थित पर्यटकीयस्थल सिद्धिथुम्कामा तीनदिने पर्यटन महोत्सव शुरू भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौँ’ भन्ने नाराका साथ आजदेखि महोत्सव शुरू भएको आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईंले जानकारी दिनुभयो । 

    यहाँको खान्द्रुङ गुफा, अजम्वरे डाँडा, झुल्केघाम हेर्ने चुली, फुङफुङे झरना, मन्दिर, देवीस्थान पर्यटकीय आकर्षण हुन् । महोत्सवको पहिलो दिन साँस्कृतिक झाँकीको साथ कार्यक्रमको उद्घाटन, दोस्रो दिन भव्य साँस्कृतिक कार्यक्रम र तेश्रो दिन समापन समारोह हुनेछ । 

    स्थानीय व्यावसायिक कृषि प्रणाली, मौरीपालन व्यवसाय यहाँ राम्रोसँग फस्टाएको छ । महोत्सवमा कृषि प्रदर्शनी र मौरीको समेत स्टल राखिएको छ । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन केही दिनदेखि नै बढेको वडा सचिव युवराज घोर्साईंले बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast