सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    निर्मला हत्या प्रकरण : न्याय माग्नमै बित्यो सय दिन, अनुसन्धान अझै शंकामा

    प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ, अनुसन्धान सूक्ष्म र साँघुरो पार्दै लगिएको प्रहरी अझै दाबी गर्छ

    शुक्रबार, १६ कार्तिक २०७५, आहाखबर

    कञ्चनपुर, १६ कार्तिक 

    कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार एक सय दिन पूरा भएको छ ।

    कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको छ। 

    घटना भएदेखि न्यायका लागि सुरु भएको आन्दोलन आजसम्म रोकिएको छैन । पीडित परिवार र स्थानीय महिलाको सय दिन न्याय माग्नमै बितेको छ । तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन् । प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ। अनुसन्धान सूक्ष्म र साँघुरो पार्दै लगिएको प्रहरी अझै दाबी गर्छ।

    घटनाको सय दिन पुग्दा पनि निर्मलाका आमाबुवा न्यायको खोजीमा स्थानीय प्रशासनदेखि प्रदेश र संघीय सरकार प्रमुखसमक्ष अनुनयविनय गरिरहेका छन् । तर न त निर्मलाको वास्तविक अपराधी पत्ता लाग्यो न प्रहरीको अनुसन्धानमा ठोस प्रगति भयो । पीडित परिवारले अब न्याय पाउने आस मारिसकेका छन् ।

    ‘सय दिन त न्याय माग्नमै बित्यो, घरपरिवार र अन्य काम सबै छुट्यो,’ बुवा यज्ञराजले भने, ‘अब न्याय पाउने आस पनि मर्दै गयो, जहाँबाट र जसरी अनुसन्धान हुनुपथ्र्याे त्यो हुन सकेन ।’ प्रहरीले सही तरिकाले अनुसन्धान गरेको भए साताभित्रै अपराधी पत्ता लाग्ने उनको बुझाइ छ ।

    साउन १० गते भीमदत्त नगरपालिका १८ भगतपुरमा साथीको घर गएकी निर्मला दोस्रो दिन भीमदत्त नपा २ र १८ को सीमास्थित उखुबारीमा मृत भेटिएकी थिइन् । सोही दिनदेखि अपराधी पत्ता लगाउन माग गर्दै आन्दोलन सुरु भएको हो । ‘न्याय माग्दै हामी सीडीओदेखि प्रधानमन्त्रीसम्म पुग्यौं,’ यज्ञराजले भने, ‘सबैले अपराधी कुनै हालतमा जोगिँदैन भन्छन्, तर अहिलेसम्म को हो थाहा पत्तो छैन ।’

    निर्मला घटनाकै अघिपछि भएका बलात्कारपछि हत्याका घटनाको दोषी पत्ता लागेर कारबाही भोगिरहेका छन् । कञ्चनपुर कृष्णपुरकी कविता विष्ट, कैलालीकी माया विक घटनाका दोषी तत्कालै पत्ता लागेका थिए । निर्मला घटनापछि पोखरामा भएको यस्तै प्रकृतिमा पनि दोषी पत्ता लागिसकेका छन् । ‘सबैतिर दोषी पत्ता लागेकै छन्, तर हाम्री छोरीका अपराधी किन गुमनाम ?’ यज्ञराजले भने, ‘अनुसन्धानका नाममा दिनैपिच्छे फरकफरक व्यक्ति र प्रहरी टोली आउँछन् तर दोषी पत्ता लाग्ने छाँट देखिँदैन ।’

    यसैको अनुसन्धानका नाममा आधा दर्जनभन्दा बढी टोली गठन भए । अनुसन्धानमा भएको लापरबाहीकै लागि पनि गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति र प्रहरी प्रधान कार्यालयले समेत समिति गठन गरेको थियो । राष्ट्रिय मानव अधिकार आयोग टोलीले पनि अनुसन्धानमा भएको लापरबाहीको छुट्टै छानबिन गरेर सरकारलाई निर्देशन दिइसकेको छ ।

    निर्मलाका आमाबुवाले न्याय माग्नकै लागि मुख्यमन्त्रीलाई दुईपटक भेटे । स्थानीयस्तरमा प्रजिअ र एसपीलगायतको टोलीलाई कति पटक भेटे कुनै लेखाजोखा छैन । यसैगरी न्यायकै लागि एक सातासम्म काठमाडाैं बसेर प्रधानमन्त्री, गृहमन्त्रीसँगै राष्ट्रिय मानव अधिकार आयोग टोलीलाईसमेत भेटेका छन् । ‘सबैलाई भेटेर न्याय चाहियो भन्ने कुरा राखिसकेका छौं,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘तर न्याय पाउने छाँट छैन ।’ उनलाई प्रहरीले छोरी बेपत्ता भएको ठाउँदेखि अझै अनुसन्धान नगरेकाले अपराधी जोगाउन खोजिएको महसुस भएको छ ।

    आन्दोलन हिंसात्मक बन्दै गएपछि भदौं ७ र ८ गते प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर ८ गते भीमदत्त नगरपालिका १८ सन्नी खुनाको मृत्यु भयो भने अन्य घाईते छन्। घटनाको सत्यतथ्य छानबिन गर्न चौतर्फी दबाब बढेपछि सरकारले भदौ ७ गते गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। शुरुमा १५ दिन र पछि १५ दिन म्याद थपेर समितिलाई छानबिन गर्न समय दिइएको थियो। समितिले असोज ९ गते प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको थियो ।

    सुरुदेखि नै प्रहरीले अनुसन्धानमा गरेको लापरबाही र अहिले भइरहेको अनुसन्धान पनि सन्तोषजनक नभएको पीडित परिवारको गुनासो छ । निर्मला घटनाका अपराधी पत्ता लगाउनुपर्ने माग गर्दै आन्दोलित स्थानीयसमेत अब वारपारको आन्दोलन गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । छठ पर्वसम्म आन्दोलनका कार्यक्रम स्थगित गरेका उनीहरूले त्यतिबेलासम्म पनि अपराधी पत्ता नलागे कडा आन्दोलन गर्ने चेतावनी दिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast