मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    ओशो तपोवनबाट शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जले फिर्ता लियो ३७ रोपनी वनक्षेत्र

    सरकारले २०६२ सालमा ओशो तपोवनलाई नागार्जुनको ३७ रोपनी वन क्षेत्र धार्मिक वनका रुपमा हस्तान्तरण गरेको थियो

    बिहिवार, १५ कार्तिक २०७५, आहाखबर
    फाइल तस्वीर

    काठमाडौँ, १५ कार्तिक 

    स्वामी आनन्द अरुण संस्थापक रहेको ओशो तपोवनलाई दिइएको ३७ रोपनी वनक्षेत्र शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जले फिर्ता लिएको छ । सरकारले २०६२ सालमा ओशो तपोवनलाई नागार्जुनको ३७ रोपनी वन क्षेत्र धार्मिक वनका रुपमा हस्तान्तरण गरेको थियो । 

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) कमलजंग कुवँवरले भने, ‘२०६२ सालमा धार्मिक वनका रुपमा उपभोग गर्न दिइएको क्षेत्रमा नियमविपरित सडक निर्माण गरेको भेटियो’, कुवँरले भने, ‘धार्मिक वनक्षेत्रमा वातावरणमा प्रतिकूल असर पर्ने खालको गतिविधि भएपछि स्पष्टिकरण सोधेका थियौँ, तर चित्त बुझ्दो जवाफ आए । सडक निर्माणले वन क्षेत्रमा भूक्षय हुने सम्भावना देखिएपछि फिर्ता लिएका हौँ ।’

    कुँवरका अनुसार ओशो तपोवनले धार्मिक वनमा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ विपरित गतिविधि गरेको पाइएपछि फिर्ता गरिएको पत्र बिहीबार ओशो तपोवनलाई पठाइएको जानकारी पनि दिएका छन् । 

    कुवँरका अनुसार उक्त पत्र तपोवन व्यवस्थापनले बुझिसकेको छ । ओशो तपोवन व्यवस्थापनबाट मध्यवर्ती क्षेत्रको उक्त वन फिर्ता लिएपछि बनाइएको सडक भत्काउन सडक विभागलाई भनिएको कुवँरले बताए । ‘धार्मिक वन धार्मिक काममै प्रयोग हुनुपर्छ, नियमविपरित सडक नै बनाइएकाले भत्काएर वन क्षेत्र नै कायम गर्न सडक विभागलाई भनिसकेका छौँ ।’

    कुँवरका अनुसार मध्यवर्ती क्षेत्रको उक्त वन क्षेत्र निजी जग्गासँग पनि पनि जोडिएको छ । निकुञ्जसँग पनि जोडिएको यो वन क्षेत्र अब सामुदायिक वनलाई जिम्मा लगाउन लागिएको छ । ‘ओशो तपोवनबाट फिर्ता लिएपछि अब यो वन क्षेत्र स्थानीय मुर्कु सिर्जनशील महिला सामुदायिक वन उपभोक्ताा समूहलई हस्तान्तरण गर्छौँ’, कुवँरले भने ।  

    अर्कातिर ओशो तपोवन व्यवस्थापनले भने आफूहरु फिर्ता लगिएको धार्मिक वनका लागि कानुनी उपचारमा जाने बताएका छन् । ती अधिकारीले आफूहरुलाई कानुनी उपचार खोज्न ३५ दिन समय उपलब्ध रहेको बताउँदै त्यही अनुरुप अघि बढ्ने पनि जानकारी दिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast