मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुन भन्छन् - राष्ट्रिय भाषामा अतिक्रमण भयो

    कवि घिमिरेका कृति राष्ट्रियताले ओतप्रोत भएको उल्लेख गर्दै उनका ‘अश्वत्थामा’ जस्ता कृतिलाई नोवेल पुरस्कारका लागि सरकारले सिफारिश गर्नुपर्ने सुझाव

    बुधबार, १४ कार्तिक २०७५, आहाखबर

    काठमाडौँ, १४ कात्तिक 

    कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपाली राष्ट्रिय भाषामाथि अतिक्रमण भइरहेको उल्लेख गर्र्दै यस सम्बन्धमा बेलैमा सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

    नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद घिमिरे शताब्दी वर्ष प्रवेश गरेका अवसरमा आयोजित अभिनन्दन समारोहमा उनले राष्ट्रिय शिक्षा प्रणालीमा विदेशी भाषालाई प्रोत्साहन गर्दा शिक्षा हुनेखानेका लागि मात्र बन्न पुगेको बताए ।

    कावा राष्ट्रपति पुनले भने, ‘नेपाल मै आयोजना हुने औपचारिक कार्यक्रम पनि सरकारी औपचारिक भाषालाई बिर्सेर विदेशमा भएका झैँ अङ्ग्रेजी भाषामा हुने गरेका छन् । सबै भाषा पढ्नुपर्छ, बोल्नुपर्छ, तर प्राथमिकता भने आफ्नै भाषालाई दिनुपर्छ ।’

    कावा राष्ट्रपति पुनले राष्ट्रकवि घिमिरेले राष्ट्रको भाषा साहित्यमा गरेको योगदान अविस्मरणीय रहेको र उनका कृति कालजयी र अमर रहेको उल्लेख गरे । कावा राष्ट्रपतिले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन पत्रले अभिनन्दन गरेका थिए ।

    कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रकवि घिमिरेले मुलुकको भाषा साहित्यका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै परिषद्ले स्थापनाकालदेखि नै स्रष्टालाई जीवित अवस्थामै सम्मान गर्ने प्रचलनको शुरुआत गरेको स्मरण गरे ।

    वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले कवि घिमिरेका कृति राष्ट्रियताले ओतप्रोत भएको उल्लेख गर्दै उनका ‘अश्वत्थामा’ जस्ता कृतिलाई नोवेल पुरस्कारका लागि सरकारले सिफारिश गर्नुपर्ने सुझाव दिए ।

    कार्यक्रममा परिषद्का सचिव रमा शर्मा, कोषाध्यक्ष भीमबहादुर अधिकारी, सदस्यद्वय किरण थापा र लक्ष्मण थापाले परिषद्का अध्यक्षसमेत रहनुभएका राष्ट्रकवि घिमिरेले मुलुकका लागि गरेको योगदानको चर्चा गर्दै परिषद्का काम कारवाहीबारे प्रकाश पारेका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast