सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    कञ्चनपुरको धार्मिक पर्यटकीयस्थल ‘शिवलिङ्गा’ मा आन्तरिक तथा बाह्य पर्यटकको लर्को !

    धार्मिक पर्यटनसँगै शिवलिङ्गा क्षेत्र वरपरको प्राकृतिक सौन्दर्यले पर्यटकलाई अझ बढी लोभ्याउने गरेको छ

    आईतवार, ११ कार्तिक २०७५, शेरबहादुर सिंह.

    भीमदत्तनगर, ११ कात्तिक 

    कञ्चनपुरको बेदकोट नगरपालिकाको उत्तरी चुरेफेदमा अवस्थित धार्मिक पर्यटकीयस्थल ‘शिवलिङ्गा’ मा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ ।

    केही वर्ष अघिसम्म गुमनाम रहेको शिवलिङ्गा क्षेत्रमा हाल दैनिक तीनदेखि पाँच सय जना पर्यटकको आवागमन भइरहेको छ । चाडपर्वका बेला यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको स्थानीयवासीको भनाइ छ।

    वर्र्षौंदेखि माटो र ढुङ्गाको मिश्रणबाट शिवलिङ्गजस्तै देखिने आकारका ठूल्ठूला पहाडहरुबाट प्राकृतिक रुपले बनेको शिवलिङ्गा हेर्न आउने जो कोही पर्यटक पनि यहाँको दृश्य देखेर रमाउने गर्छन् । धार्मिक पर्यटनसँगै शिवलिङ्गा क्षेत्र वरपरको प्राकृतिक सौन्दर्यले पर्यटकलाई अझ बढी लोभ्याउने गरेको छ ।

    बर्सातका बेला आउने पानीको भेल तथा पहिरोले समेत असर नगर्ने आश्चर्यका कारण ती पहाडको दृश्य अवलोकन गर्न मुलुकका विभिन्न क्षेत्रका साथै छिमेकी मुलुक भारतबाट पनि यहाँ मानिसहरु आउने गरेका छन् । पछिल्लो समय शिवलिङ्गा क्षेत्र वनभोजको गन्तव्य पनि बनेको छ ।

    विगत दुई वर्षदेखि यहाँ आउने पर्यटकको तथ्याङ्क सङ्कलन गर्दै आएका स्थानीय व्यापारी सुभान धामीले बितेको एक वर्षमा ५२ हजार १०० भन्दा बढीले शिवलिङ्गा क्षेत्रको अवलोकन गरेको जानकारी दिए । भीमदत्तनगर, धनगढी, नेपालगञ्ज, सुर्खेतका साथै सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाबाट यहाँ पर्यटक आउने गरेको धामीको भनाइ छ । केही समयअघि शिवलिङ्गाको फेदमै बेदकोट नगरपालिकाको सहयोगमा मन्दिर निर्माण गरेर पूजाअर्चना गर्न थालिएको छ ।

    ‘विसं २०२७ सालमा स्थानीयवासीले सो क्षेत्र हुँदै पानीको कुलो ल्याएर खेतीपातीको काम गर्थे’, धामीले भने, ‘अचानक पानी सुकेपछि शिवलिङ्गामा पानी माग्दै पूजाआजा गरेकै रातिदेखि पानी आएको थियो ।’ सोही जनविश्वासका कारण लामो समयदेखि स्थानीयवासीले त्यहाँ पूजाअर्चना गर्दै आएका हुन् । ‘जेठ, वैशाखको खडेरीमा पनि पानी आइरहन्छ’, धामीले भने, ‘शिवलिङ्गामा शुद्ध मनले पूजाअर्चना गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।’

    यहाँ अवलोकनका लागि भारतीय सीमावर्ती शहर बनबासा, खटिमा, टनकपुर, चम्पावतलगायत क्षेत्रबाट पर्यटक आउने गरेका छन् । पछिल्लो समय ‘म्युजिक भिडियो’ पनि त्यहाँ छायाङ्कन हुने गरेको बताउँदै धामीले शिवलिङ्गाको पर्यटकीय सम्भावनालाई थप बढावा दिन प्रचारप्रसार आवश्यक रहेको बताए ।

    बेदकोट नगरपालिकाले चालू वर्षलाई पर्यटकीय वर्ष घोषणा गरेर प्रचारप्रसारका काम गरिरहेको छ । बेदकोट ताल, शिवलिङ्गालगायत अन्य धार्मिक मठमन्दिरसमेत पर्याप्त रहेको बेदकोटमा पर्यटक ल्याउन पहल गरिरहेको नगरपालिकाले जनाएको छ । नगरभित्रको पर्यटकीय क्षेत्रको प्रचार गर्न र पर्यटकलाई नगरपालिकासम्म पु¥याउन २०७५ साललाई ‘बेदकोट पर्यटन वर्ष’का रुपमा मनाउने नगरप्रमुख अशोककुमार चन्दले जानकारी दिए ।

    पछिल्लो समय कञ्चनपुरका पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, झिलमिला ताल, बेदकोट ताल, शिवलिङ्गा र दोधारा चादँनी झोलुङ्गे पुल पर्यटीकय गन्तव्य हुन् । गड्डाचौकी नाकाबाट सन् २०१८ को हालसम्म दुई हजार २२१ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१७ मा दुई हजार ७४५ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

    पछिल्लो समय स्थानीय तहले पर्यटकीय क्षेत्रको पहिचान र प्रवद्र्धन गर्न बजेट विनियोजन गरेर काम गरिरहेका छन् । बेदकोट नगरपालिकाले बेतकोट ताल क्षेत्र र भीमदत्त नगरपालिकाले उत्तर शिरानको चुरेको झिलमिला ताल क्षेत्रमा भ्यू टावर निर्माण गरेका छन ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast