सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    मोदी र ओलीले संयुक्त उद्घाटन गरेको पशुपति धर्मशाला डेढ महीनासम्म पनि सञ्चालन भएन

    तीनतारे होटलको सुविधा हुनेगरी बनाइएको धर्मशाला निर्माणका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ

    शुक्रबार, ९ कार्तिक २०७५, आहाखबर

    काठमाडौँ, ९ कात्तिक

    नेपाल–भारतमैत्री पशुपति धर्मशाला उद्घाटन भएको डेढ महीनासम्म पनि सञ्चालनमा आउन सकेको छैन । बिम्स्टेक सम्मेलनका अवसरमा गत भदौ १५ गते धर्मशाला उद्घाटन भएको थियो । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गरेको धर्मशाला त्यसलगत्तै सञ्चालनमा आउने भनिएको थियो ।

    नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले प्रतिवेदन दिएपछि धर्मशाला सञ्चालन हुने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए। कात्तिक ११ गते आइतबारसम्म प्रतिवेदन आइपुग्ने र त्यसलगत्तै धर्मशाला सञ्चालन हुने उनले सुनाए ।

    तीनतारे होटलको सुविधा हुनेगरी बनाइएको धर्मशाला निर्माणका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । धर्मशाला निर्माणपछि नेपाल–भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’ मा यात्रा गराउन सहज हुने विश्वास गरिएको छ । यसका कारण धार्मिक पर्यटन प्रवद्र्धन हुनेछ ।

    तीलगङ्गा आँखा अस्पतालको दक्षिण पश्चिम भागको १० रोपनी क्षेत्रफलमा निर्माण भएको धर्मशालामा तीन चोक, तीन तला र ५९ कोठा छन् । चार कोठा विशिष्ट व्यक्तिका लागि बनाइएको छ । धर्मशालामा एकैपटक ४०० तीर्थयात्री बस्न सक्नेछन् ।

    धर्मशालाको निर्माणपछि निम्न तथा निम्न मध्यम वर्गका यात्री पनि बस्न सक्ने गरी सहुलियतको व्यवस्था गरिने कोषले जनाएको छ । हाल पशुपति दर्शनमा आउने धार्मिक पर्यटकलाई धर्मशालाको व्यवस्था नहुँदा महङ्गो होटलमा बस्न बाध्य हुने गरेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast