बुधबार, जेष्ठ २१, २०७७
    आर्थिक खबर

    दशैंमा नयाँ नोट छाप्दा ७९ करोड स्वाहा, ३ महिनामा ४१ करोड ५४ लाख प्रति नयाँ नोट छापियो

    ५ सय रुपैयाँ दरका २ करोड ८९ लाख ५० हजार थान र १ हजार रुपैयाँ दरका ३ करोड ५६ लाख थान नयाँ नोट छापिएका छन्

    सोमबार, ५ कार्तिक २०७५, आहाखबर

    काठमाडौँ, ५ कार्तिक

    दशैंका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दा नेपाल राष्ट्र बैंकलाई ७८ करोड ९० लाख रुपैयाँ अतिरिक्त भार परेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनामा ४१ करोड ५४ लाख प्रति विभिन्न दरका नयाँ नोट छापिएको राष्ट्र बैंकले जनाएको छ । यसै अवधिमा ५ रुपैयाँ दरका ९ करोड ४२ लाख ५० हजार थान, १० रुपैयाँको ९ करोड ७२ लाख थान, २० रुपैयाँको ६ करोड ९६ लाख ५० हजार थान, ५० रुपैयाँ दरका १० करोड १५ लाख थान र १ सय रुपैयाँ दरका ३ करोड ८३ लाख थान नयाँ नोट छापिएको छ ।

    यसैगरी ५ सय रुपैयाँ दरका २ करोड ८९ लाख ५० हजार थान र १ हजार रुपैयाँ दरका ३ करोड ५६ लाख थान नयाँ नोट छापिएका छन् ।

    ७९ करोड खर्चिएर नयाँ नोट

    चालु आर्थिक वर्षको पहिलो त्रैयमासमा राष्ट्र बैंकले ६१ अर्ब ८१ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न दरका नयाँ नोट छपाइ गरेको छ । जसमा ५० अर्ब ७ करोड ५० लाख रुपैयाँको भुक्तानी भएको छ भने दशैंका बेला मात्रै ११ अर्ब ७४ करोड ३७ लाख रुपैयाँको नयाँ नोट सटही गरेको छ ।

    राष्ट्र बैंकले यति परिमाणमा नयाँ नोट छाप्दा खर्च पनि ठूलै भएको छ । यति नोट छाप्दा करिब ७९ करोड रुपैयाँ राज्यको ढुकुटीको रकम खर्च भएको छ । यस अवधिमा ७८ करोड ९० लाख २८ हजार ७ सय ८१ रुपैयाँ नयाँ नोट छाप्दा मात्रै खर्च भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

    राष्ट्र बैंकले दशैंका लागि भन्दै ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका नयाँ नोट सटही सुविधा प्रदान गर्यो । वितरण गरिएका यि दरका नोटका लागि मात्रै राज्यको ६२ करोड २८ लाख ६६ हजार ३ सय २२ रुपैयाँ खर्च बेहोरेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा ६५ अर्ब ४२ लाख ५० हजार रुपैयाँ बराबरका विभिन्न दरका नयाँ नोट छपाइ गर्दा राष्ट्र बैंकले ७२ करोड ११ लाख ७५ हजार ७५ रुपैयाँ खर्च बेहोर्नुपरेको थियो ।

    दशैंमा नयाँ नोट : राज्यलाई घाटा

    एकातर्फ छपाईमै यतिधेरै खर्च भएको छ भने दशैंमा वितरण गरिएका धेरै नोटहरु विग्रने तथा नष्ट हुने कारणले पनि राज्यकोष ठूलो रकम नयाँ नोटमा खर्च हुने गरेको छ ।

    दशैंकै बेला नयाँ नोट वितरण गर्ने चलनले गर्दा सर्वसाधारणहरुले दशैमा पुराना नोट प्रयोग गर्न छाडिसकेका छन् । दशैंमा जे-जसरी हुन्छ नयाँ नोट नै चाहाने सर्वसाधारणको चाहनाले गर्दा मुलुकलाई थप व्ययभार बढेको छ । दशैंमा नयाँ नोट प्रयोग गर्दा अबीर तथा टीका लाग्छ । अझ दक्षिणाको रुपमा दिँदा त अबीर टीका दलेर दिने प्रचलन छ । नोटमा अबीर तथा टीका थप्दा नोटको आयु कम हुने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

    कुनै नोट विग्रिए राष्ट्र बैंकले त्यस्तो नोट खिचेर नयाँ नोट दिने गरेको छ । त्यो खिचेको नोटको सट्टा राष्ट्र बैंकले अर्को नयाँ नोट छपाउने गरेको छ । यसरी फेरी नोट छपाउँदा राज्यलाई व्यवभार थप हुने गर्दछ । अर्कोतर्फ दशैंमा मादक पदार्थ सेवन गर्नेहरुले नोट च्यात्ने तथा जलाउने साथै तास खेल्दा समेत नोटको जतन नगरी प्रयोग गर्दा च्यातिने गरेका घटनाहरु आउने गरेका छन् ।

    दशैंमा वितरण गरिएका धेरै नोटहरु विग्रने तथा नष्ट हुने कारणले पनि राज्यकोष ठूलो रकम नयाँ नोटमा खर्च हुने गरेको छ ।
    यसरी दशैंमा वितरण गरिएका नयाँ नोटमा अबीर र टीकाको माध्यमबाट होस् या जुवातास खेल्दा हुने क्षतिका कारण मुलुकको ढुकुटीबाट नै खर्च गर्नुपर्ने अवस्था आउँछ ।

    राज्यलाई यसरी वर्षेनी व्यवभार बढ्दै जाने हुँदा दशैंका बेला नयाँ नोट वितरण बन्द गर्ने हो कि भन्ने बहस राष्ट्र बैंकमै शुरु भइसकेको छ । राष्ट्र बैंक स्रोतका अनुसार दशैंकै बेला नयाँ नोट छाप्दा खर्च सँगै व्यवस्थापनको समेत चुनौती सामाना गर्नुपर्ने भएकाले नयाँ नोटका विषयमा नयाँ निर्णय गर्ने गरी छलफल शुरु भएको छ ।

    दशैंका बेला नयाँ नोट वितरण गर्दा खर्च दिनप्रतिदिन बढ्दै गएको र व्यवस्थापनको चुनौतीसमेत सामाना गर्नुपर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला बताउँछन् । दशैंमा नयाँ नोट पुरै बन्द नगरे पनि यसमा केही नयाँ निर्णय गर्नु पर्ने उनको भनाइ छ । दशैंका बेला सबै नोट बन्द नगरी कुनै दुई दरका नयाँ नोट वितरण गरे धेरै समस्या कम हुने कार्यकारी निर्देशक निरौला बताउछन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast