बिहिवार, असोज २, २०७६
    ओएमजी Omg!

    तनहुँ निवासी तारामाया थापाले बनाईन् ६४ वर्षमा नेपाली नागरिकता !

    जनतालाई घरदैलोमा पुगेर सेवा प्रवाह गर्ने उद्देश्यले कार्यालयद्वारा असोज २६ र २७ गते घुम्ती शिविर सञ्चालन

    आईतवार, २८ असोज २०७५, आहाखबर

    दमौली, २८ असोज

    हालसम्म पनि नागरिकता नबनाएका तनहुँको घिरिङ गाउँपालिका–१ निवासी ६४ वर्षीया तारामाया थापाले नागरिकता बनाएकी छिन् । 

    तनहुँ जिल्ला प्रशासन कार्यालयले घिरिङ गाउँपालिका पोखरीछापमा आयोजना गरेको घुम्ती शिवरमा थापाले नागरिकता बनाएकी हुन् । “यो उमेरमा आएर पनि नागरिकता पाउँदा खुशी लागेको छ,” थापाले भनिन्, “बल्ल नेपाली भएकोजस्तो अनुभूति भएको छ ।” 

    उनलाई उक्त कार्यालयका प्रशासकीय अधिकृत रामप्रसाद ढकालले नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए । जनतालाई घरदैलोमा पुगेर सेवा प्रवाह गर्ने उद्देश्यले उक्त कार्यालयले असोज २६ र २७ गते घुम्ती शिविर सञ्चालन गरेको थियो । शिविरमा ११९ महिला र ७१ पुरुष गरी १९० जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको प्रजिअ भरतकुमार शर्माले जानकारी दिए । घुम्ती शिविरमार्फत आदिवासी जनजाति प्रमाणीकरण र परामर्शलगायत मतदाता नामावली सङ्कलनका कामसमेत सम्पन्न भएको उनले बताए । 

    शिविरका अवसरमा जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा ११९ महिला र ९०पुरुष गरी २०९ जनाले नाम दर्ता गराएका थिए । शिविरकै अवसरमा घिरिङ गाउँपालिका–३ को सुन्धारामा सात वटा खाद्य पसलको समेत अनुगमन गरिएको सहायक प्रजिअ तुलसीराम पौडेलले जानकारी दिए । 

    जनतालाई घरदैलोमा नजीकबाट सेवा पुर्याउने उद्देश्यले उक्त कार्यालयले स्थानीय तहसँग समन्वय गरी हरेक महीना घुम्ती शिविर सञ्चालन गर्दै आइरहेको छ । यसअघि शुक्लागण्डकी नगरपालिकामा र देवघाट गाउँपालिकामा घुम्ती शिविर सम्पन्न भइसकेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast