सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    तलेजु भवानीको मन्दिरमा जमरा राखी दशैँ शुरु, एकान्त कुमारीलाई कुमारी घर भित्र्याइयो

    जीवितदेवीको रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी जीविका बज्राचार्यलाई कुमारी घर भित्र्याइएको छ

    बुधबार, २४ असोज २०७५, आहाखबर
    फाइल तस्वीर

    भक्तपुर, २४ असोज 

    भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा बुधबारबाट विधिवत रूपमा बडादशैँ शुरु भएको छ । 

    बुधबार बिहान ७ बजेर १५ मिनेटमा पाञ्चायन निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीले तलेजुमा जमरा राखेर दशैँ शुरु भएको तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । 

    नेपालकै मूल तलेजुमा वैद्धिक एवं तान्त्रिक पद्धतिअनुसार पूजा गरी दशैँघरमा जमरा राखिएको हो । राजा हरिसिंहदेव र देवलदेवीले नेपाल संवत् ४४४ मा सिम्रनगढबाट ल्याएर श्री तलेजु भवानीलाई भक्तपुरमा प्रतिस्थापन गरेपछि तलेजु जात्रा मनाउने परम्परा शुरु भएको जोशीले बताए । 

    घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजाअर्चना गर्ने परम्परा रहेको छ भने आजै भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा रहेको छ । तलेजुमा सप्तमीदेखि दशमीसम्म तलेजु जात्रा मनाइन्छ भने सप्तमीदेखि महानवमीसम्म ५४ बोका, ३२ राँगा र २४ हाँसको बली दिई कालरात्री गरी जात्रा मनाउने गरिन्छ । 

    तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ । सप्तमीको दिन तलेजुलाई देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराई जात्रा मनाउने परम्परा रहेको छ । 

    तलेजुलाई दशैँघरमा राखेर पूजा गर्ने परम्पराअनुसार मूलनाइके जोशीले खड्ग बोकेर अन्य व्यक्तिहरूले तलेजुलाई विधिवत रूपमा दशैँघर पुर्याएर विजयादशमीको दिनसम्म तलेजुलाई दशैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको छ । विजयादशमीको दिन भने तलेजुलाई विजययात्रा गरी दशैँघरबाट मूलघरमा भित्र्याइने परम्परा रहेको मूलनाइके जोशीले बताए । 

    एकान्त कुमारीलाई कुमारी घर भित्र्याइयो 

    त्यसैगरी जीवितदेवीको रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी जीविका बज्राचार्यलाई कुमारी घर भित्र्याइएको छ । कुमारी घर भित्र्याएपछि बुधबारदेखि कुमारी एवं तलेजु जात्रा शुरु भएको छ । 

    घटस्थापनादेखि दशैँभरि कुमारीघरमा विराजमान गराई कुमारीजात्रा मनाइने परम्पराअनुसार कुमारीलाई तान्त्रिक विधिअनुसार पूजा गरी भक्तपुर नगरपालिका क्वाठण्डौँस्थित कुमारी घरमा बिराजमान गराई पूजा गरिएको तलेजूका मूलनाइके जोशीले बताए । 

    तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद, सामवेद र चण्डी पाठ गरी राजोपाध्याय र कर्माचार्यले कुमारीको पूजा गरी कुमारीजात्रा मनाइने जानकारी दिँदै उनले दशैँभरि टिबुक्छेँमा रहने ११ गणकुमारीको समेत तलेजु ल्याएर पूजा गरिन्छ भने । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast