सोमबार, असोज २७, २०७६
    राज्य-समाज

    सुदूरपश्चिम प्रदेश राजधानीको डिपीआर यसै आवमा, काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीद्वारा विरोध

    शुक्रबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाइको निर्णयबाट प्रदेशको नाम सुदूरपश्चिम र राजधानीको स्थान गोदावरीलाई पारित गरेको हो

    आईतवार, १४ असोज २०७५, आहाखबर

    अत्तरिया, १४ असोज 

    सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा भौतिक संरचना निर्माणका लागि चालू आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार गरी प्रक्रिया अघि बढाइने भएको छ । 

    शुक्रबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाइको निर्णयबाट प्रदेशको नाम सुदूरपश्चिम र राजधानीको स्थान गोदावरीलाई पारित गरेपछि भौतिक संरचना निर्माणका गर्न डिपीआरको प्रक्रिया अघि बढाइने प्रक्रिया शुरु भएको हो । 

    सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी रहने स्थान एकलौटी ढङ्गबाट पारित गरिएको भन्दै आइतबार प्रदेशसभाको बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यहरुले उभिएर विरोध गरे ।

    सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता प्रकाश शाहका अनुसार चालु आव वर्षभित्रै प्रदेशको स्थायी राजधानी तोकिएको स्थान गोदावरीमा भौतिक संरचना निर्माणका लागि डिपीआर तयार गरिनेछ । 

    चालू आवमा डिपीआर तथा भौतिक संरचना निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिने प्रवक्ता शाहले जानकारी दिए । 

    उनले प्रदेशसभाको बैंठकले दुई तिहाइ बहुमतबाट प्रदेशको नामकरण र स्थायी राजधानीको नामकरण टुङ्गो लगाइसकेकाले अब त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न प्रदेश सरकार लागिपरेको बताए । 

    सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा प्रदेश सरकारले आफ्नो समयावधिभित्रै भौतिक संरचना निर्माण गरी कार्यसम्पादनको शुरुआत गरिने लक्ष्य लिइएको प्रवक्ता शाहले जानकारी दिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast