सोमबार, असोज २७, २०७६
    राज्य-समाज

    निर्मला हत्या प्रकरण - 'भेजीनल स्वाब'मा भेटिएको डीएनएसँग एसपी विष्टसहित ३ को रिपोर्ट नेगेटिभ

    बम दिदी बहिनीलाई छाड्ने र एसपी विष्टसहितको डिएनए परीक्षण गर्न ढिला गर्नुलाई आफुले षड्यन्त्रका रुपमा बुझेको निर्मलाका बाबुको दावी

    आईतवार, १४ असोज २०७५, आहाखबर

    काठमाडौँ, १४ असोज

    कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानको क्रममा गरिएको निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए 'भेजिनल स्वाब'मा भेटिएको डीएनएसँग मेल नखाएको रिपोर्ट आएको छ ।

    निर्मलाका बाबु यज्ञराजले घटनाको अनुसन्धानका नाममा सरकारले आँखामा छारो हालेको प्रतिकृया दिएका छन् । 

    ‘यो सरकारले हामीलाई न्याय देला भन्ने विश्वास नै थिएन, त्यहि भएर विशेष परीक्षणका लागि उनीहरुको डिएनए विदेशमा लगेर टेष्ट गर्नुर्ने मैले काठमाडौमा मन्त्रीलाई नै भनेको हुँ । तर, मेरो कुरा सुनिएन । आखिर मैले जे सोचेको थियो रिपोर्ट त्यहि आयो’ निर्मलाका बाबु यज्ञराजले भने, ‘अब त सरकारले न्याय देला भन्ने लाग्नै छोड्यो ।’ 

    ‘हामीले घटनाको सुरुवात कहाँबाट भएको र को को मानिस जोडिएका छन् भनेर पहिलेदेखि नै भनेका हौँ । तर हामीलाई आशंका लागेका व्यक्तिहरुमाथि गहिरो अनुसन्धान नै गरिएन’, उनले बम दिदीबहिनीप्रति संकेत गर्दै भने, ‘प्रमाणहरु नष्ट गरिएको छ । निर्मलाका लुगा अझै भेटिएका छैनन्, पोष्टमार्टम गर्ने डाक्टरहरुलाई नै खेदिएको छ । यस्तो सरकारले कसरी तथ्य सार्वजनिक गर्छ र हामीले न्याय पाउछौ ?’ उनले भावुक हुँदै भने ।

    बम दिदी बहिनीलाई छाड्ने र एसपी विष्टसहितको डिएनए परीक्षण गर्न ढिला गर्नुलाई आफुले न्याय मार्न गरिएको षड्यन्त्रका रुपमा बुझेको निर्मलाका बाबु यज्ञराजले दावी गरे । 

    प्रहरीको फोरेन्सीक ल्याबमा गरिएको तीनैजनाकै डीएनए परिक्षणमा कसैको पनि स्याम्पल 'स्वाब'मा भेटिएको डीएनएसँग मेल नखाएको रिपोर्ट ल्याबले शुक्रबारनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइसकेको छ।

    प्रहरीले मुख्य अभियुक्तका रूपमा उभ्याएका दिलीपसिंह विष्टको डीएनए म्याच नभएसँगै उनीहरु तीनजना माथि नै श‌ंका गरेर परिक्षण गरिएको थियो । प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीका अनुसार घटनाबारे अनेकन तथ्य आएका छन् तर त्यसलाई पुष्टि गर्ने आधार कतैबाट जुट्न सकेको छैन ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast