सोमबार, असोज २७, २०७६
    राज्य-समाज

    नेपाल-मलेसिया श्रम वार्ता सहमति ! कामदारको भिसा खर्च रोजगारदाताले व्यहोर्ने

    सरकारी उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति जनाएको छ

    शुक्रबार, १२ असोज २०७५, आहाखबर
    काठमाडौं, १२ असोज 
     
    नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ ।
     
    मलेसिया भ्रमणमा रहेको नेपाली टोलीसँग भएको वार्तामा सरकारी उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति जनाएका छन् ।
     
    नेपाल–मलेसिया श्रम सम्बन्धको विगत १७ वर्षे इतिहासमा दुई देशका अधिकृतबीच श्रम सम्झौताको मस्यौदामाथि निर्णायक छलफल हुन लागेको यो पहिलोपटक हो ।श्रम सम्झौताका लागि नेपाल र मलेसियाबीच यसअघि तीन पटक अदानप्रदान भइसकेको उक्त प्रस्तावित मस्यौदामाथि पुत्राजयास्थित मानव संसाधन मन्त्रालयमा छलफल हुँदै छ ।
     
    छलफलमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार महाशाखाका प्रमुख कृष्ण ज्ञवालीको नेतृत्वमा परराष्ट्र मन्त्रालयका दक्षिणपूर्वी एसिया महाशाखाका प्रमुख तापस अधिकारी, कानुन मन्त्रालयका सहसचिव फडिन्द्र गौतम, मलेसियास्थित कार्यवाहक नेपाली राजदूत कुमारराज खरेल, द्वितीय सचीवहरू क्रमश: विनोद मुखिया, महेश्वरमणि त्रिपाठी र श्रमसहचारी सानमाया रम्तेलसहितको प्रतिनिधि सहभागी हुँदै छन् । उक्त प्रतिनिधिमण्डल र मलेसियाली मानव संसाधन मन्त्रालय एवं सम्बद्ध अधिकारीहरूबीच मस्यौदामाथि विस्तृत छलफल हुनेछ ।
     
    नेपाली राजदूत कुमारराज खरेलले भने, ‘वार्ता उत्साहजनक रुपमा सफल भयो । कामदारको हकहित र सुरक्षाका विषयमा दुबै देशका चासो सम्बोधन भएका छन् ।’
     
    राजदूत खरेलकाअनुसार दुबै पक्षले आन्तरिक प्रक्रिया पूरा गरेर छिट्टै श्रम सम्झौता गर्ने सहमति भएको छ ।
     
    मलेसियामा हाल करिब ५ लाखभन्दा बढी संख्यामा नेपाली कामदार कार्यरत छन् । यहाँ नेपालमा म्यानपावर कम्पनीद्वारा थमाइने सम्झौता पत्रअनुसारको काम र तलब सुविधा नपाएपछि एक कम्पनीबाट अर्को कम्पनीमा भाग्ने, गैरकानुनी बस्ने, अंगभंग हुँदा समयमै स्वास्थ्य उपचार एवं बिमा नपाउने र कतिपय रोजगारदाताबाटै ठगिने जस्ता समस्याहरू छन् ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast