सोमबार, असोज २७, २०७६
    राज्य-समाज

    प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरी राख्ने प्रस्ताव दुई तिहाईले पारित

    नाम र राजधानी पाउने सुदूरपश्चिम तेस्रो प्रदेश हो, यसअघि कर्णाली र गण्डकी प्रदेशले आफ्नो नाम र राजधानी तोकिसकेका छन्

    शुक्रबार, १२ असोज २०७५, आहाखबर
    फाइल तस्वीर

    धनगढी, १२ असोज 

    प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा राख्न दिइएको सुझावको विरोधप्रदर्शन भइरहेको बेला राजधानी गोदावरी नगरपालिका २ तेघरीमा राख्ने प्रस्ताव नै बहुमतले पारित भएको छ ।

    प्रदेश ७ को नाम सुदूरपश्चिम रहने  भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो ।

    नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् । प्रदेश ७ मा ५३ सांसद छन् । दुई तिहाईका लागि ३६ मत आवश्यक थियो। उक्त प्रस्तावको पक्षमा ३८ मत परेको थियो ।

    विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका १४ सांसदले भने मत हालेनन् । उनीहरुले बैठकसमेत बहिस्कार गरेका थिए ।

    प्रदेशसभाले प्रदेशको नाम र राजधानी चयन गर्नका लागि नेकपाका सांसद तारा लामा तामाङको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो । उक्त समितिले केही दिनअघिमात्र प्रतिवेदन दिएको थियो । समितिको प्रतिवेदन अनुसार नै प्रदेशको नाम र राजधानी पारित भएको हो ।

    शुक्रबार प्रदेशसभा बैठकमा संसदीय समितिको प्रस्तावमाथि छलफल गर्ने वा नगर्ने भन्दै प्रदेश सभा सदस्यहरुको मत मागिएको थियो । बहुमत सदस्यले छलफल गर्ने भनेपछि उक्त प्रस्तावमाथि छलफल सुरु भएको थियो ।

    नाम र राजधानी पाउने सुदूरपश्चिम तेस्रो प्रदेश हो । यसअघि कर्णाली र गण्डकी प्रदेशले आफ्नो नाम र राजधानी तोकिसकेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast