सोमबार, असोज २७, २०७६
    राज्य-समाज

    भारतका पेट्रोलियम तथा ग्यासमन्त्री प्रधान नेपालमा, पाइपलाइन विस्तारबारे छलफल

    कार्यबाहक प्रधानमन्त्री पोखरेलद्वारा पाइपलाइन विस्तारका क्षेत्रमा रहेका रुख कटानका विषयमा पनि छलफल भएको जानकारी

    शुक्रबार, १२ असोज २०७५, आहाखबर

    काठमाडौँ, १२ असोज 

    कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच शुक्रबार भएको भेटवार्तामा दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ । 

    कार्यवाहक प्रधानमन्त्री पोखरेलको सिंहदरबारस्थित रक्षा मन्त्रालयको कार्यालयमा भएको भेटवार्तामा नेपाल भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार कार्यलाई तीव्रता दिन भारत सरकार तयार रहेको र केही प्राविधिक विषय टुङ्गो लगाएर काम अघि बढाइने मन्त्री प्रधानले अवगत गराएका छन् । 

    सो विषयमा दुई सरकारबीच सहसचिवस्तरीय बैठक बसी प्राविधिक विषयमा टुङ्गो लाग्नेछ । कार्यबाहक प्रधानमन्त्री पोखरेलले पाइपलाइन विस्तारका क्षेत्रमा रहेका रुख कटानका विषयमा पनि छलफल भएको जानकारी दिए । 

    यसैगरी उनिहरुबीच भारत सरकारको सहयोगमा बन्ने हेटौँडा पोलिटेक्निक इन्स्टिच्युटको निर्माण चाँडो पूरा गर्ने विषयमा पनि छलफल भएको थियो । मन्त्री प्रधान आजै नेपाल आएका हुन् । 

    भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री

    भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान नेपालको दुईदिने भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगे । 

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सहसचिव नवराज ढकाल र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत गरे । 

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको निमन्त्रणामा मन्त्री प्रधान नेपाल भ्रमणमा आएका हुन् । 

    यसैबीच, दुबै देशका मन्त्रीहरुको नेतृत्वमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाबारे बैठक शुरु भएको छ । बैठकमा दुबै देशका वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालयका साथै नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनका उच्च अधिकारी सहभागी छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast