बुधबार, जेष्ठ २१, २०७७
    आर्थिक खबर

    आयल निगमलाई १ महिनामा करिब ६४ करोड घाटा, अमेरिकी डलरको वृद्धि मुख्य कारण !

    अहिले प्रतिब्यारेलमा बढेको तीन डलरका कारण मासिक करिब ५० करोड रुपैयाँ घाटा निगमले व्यहोर्नुपर्ने भएको छ

    सोमबार, १८ भाद्र २०७५, आहाखबर

    काठमाडौं, १८ भाद्र 

    नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निकै बढेको छ। 

    करिब तीन साताअघि प्रतिब्यारल कच्चा इन्धनको मूल्य ७३-७४ डलर थियो। विश्व परिवेशमैे भएको इन्धन राजनीतिका कारण हाल मूल्य वृद्धि भएर प्रतिब्यारेल ७७ डलर पुगेको छ। प्रतिब्यारेलमै पछिल्लो समयमा तीन डलरले मूल्य वृद्धि भएको छ। निगमका निमिक्त कार्यकारी निर्देशक सुशील भट्टराईकाअनुसार प्रतिब्यारेलमा तीन डलरले मूल्य वृद्धि हुँदा निगम ठूलो घाटा व्यहोर्न बाध्य छ।

    पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम सुरु भएपछि निगमको घाटा चुलिँदै गएको छ । यसका साथै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा निगमलाई थप असर परेको हो ।

    प्रतिब्यारेलमा एक डलर मूल्य वृद्धि हुँदा मासिक १७ करोड घाटा हुन्छ। अहिले प्रतिब्यारेलमा बढेको तीन डलरका कारण मासिक करिब ५० करोड रुपैयाँ घाटा निगमले व्यहोर्नुपर्ने भएको छ ।

    अत्यधिक इन्धन उत्पादन गर्ने इरानको कारोबारलाई अहिले अमेरिकाले प्रतिबन्ध गरेको छ । साथै, अमेरिकाले अन्य मुलुकलाई पनि इरानसँग आर्थिक कारोबार नगर्न दबाब दिएको छ । यसले गर्दा इरानको इन्धन विश्व बजारमा आउन पाएको छैन । यस्तै भेनेजुयला र लिवियाले उत्पादन गर्ने इन्धन पनि पर्याप्त परिमाणमा बजारमा आउन नसक्दा इन्धनको अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको हो ।

    यसवाहेक पछिल्लो समयमा कायम भएको अमेरिकी डलरको विनियम दरका कारण पनि निगमले अतिरिक्त मासिक करिब १४ करोड रुपैयाँ घाटा व्यहोर्नु परेको छ। अहिले अमेरिकी डलरको विनियमदर एक सय १३ रुपैयाँ ५२ पैसा कायम भएको छ। यो हालसम्मकै उच्च हो । दुई महिनाअघि एक डलरबराबर सटहीदर एक सय आठ रुपैयाँ थियो । अहिले एक डलरमा साढे पाँच रुपैयाँ वृद्धि भएको छ।

    निगमले एक महिनामा खरिद गर्ने इन्धनको मूल्यलाई आधार मान्ने हो भने विनियमदर एक रुपैयाँ प्रतिडलरले वृद्धि हुँदा निगमलाई महिनामा करिब १५ करोडभन्दा बढीको अतिरिक्त आर्थिक भार थपिन्छ। पछिल्लो १ सेप्टेम्बरमा निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त गरेको इन्धनको मूल्य सूचीअनुसार सबैभन्दा बढी खाना पकाउने एलपीजी ग्यासमा घाटा व्यहोर्न बाध्य भएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast